बागलुङ, ४ असार– धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टेलेक पुग्ने पदमार्ग निर्माणले निरन्तरता पाएको छ । गतवर्ष गलकोट नगरपालिका–७ मल्म अजिराखर्कदेखि गोठाल्नेसम्म झण्डै १ किलोमिटर पदमार्ग निर्माण शुरु गरिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजित १० लाख रुपैयाँमा गोठाल्नेदेखि निर्माण कार्य सुरु गरिएको हो । अहिले दैनिक ५० देखि ५५ जना मजदुरले पदमार्ग निर्माण गरिरहेको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जानकारी दिए ।
पदमार्गमा सोलिङ गर्ने, सिँढी चिन्ने र अप्ठ्यारो ठाउँमा रेलिङ निर्माणको काम चलिरहेको थापाले बताए । यो वर्ष गोठाल्नेबाट माथि करिब ८ सय सय मिटरसम्म काम सक्ने लक्ष्य रहेको उनले जानकारी दिए । कोरोना भाईरसको जोखिमका कारण भौतिक दुरी कायम गरेर काम तिब्र गतिमा काम चलिरहेको गलकोट नगरपालिका–७ का वडा अध्यक्ष टिका बहादुर थापाले जानकारी दिए । पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल घुम्टे पुग्ने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।





