बागलुङ, ४ असार– गोरु काटेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–४ धाईवाङका स्थानीय ९ जनालाई गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ढोरपाटन नगरपालिका–४ का झकबहादुर कामी, वीरेन्द्र सिर्पाली, बिष्णु रसाईली, कोपिल सिर्पाली, सोम बहादुर कामी, लालबहादुर पुन, रोहन बिक, कुलबहादुर कामी र थमबहादुर गोतामे रहेका छन् ।
जंगलको बिचमा गोरु मारेर काट्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाईएको प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
बुधबार पक्राउ परेका नौ जनालाई नै सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याईएको छ । उनीहरुको म्याद थप गरि अनुसन्धान थालिएको रेग्मीले बताए । गाई, गोरु मार्न वा कुट्न नपाईने व्यवस्था मुलुकी अपराध संहितामा रहेकाले सोही अनुसारको कारवाहीका लागि अदालत पेश गरिने उनले बताए । उनीहरुको साथबाट प्रहरीले भाग लगाईराखेको गोरुको मासु, खुकुरी, बञ्चरोलगायतका हतियारसमेत बरामद गरेको छ । अदालतबाट कसुर ठहर भएमा ३ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।





