बागलुङ, ८ असार– अबिरल बर्षातले बागलुङ बजारमा ल्याएको खानेपानीको पाइपलाइन बिभिन्न स्थानमा बगाएको छ । पहिरोले भुँदीखोलाको मुहान, दोबिल्ला र रेशमा पाइपलाईन बगाएको हो । पाइपलाइन बगेपछि बजारमा खानेपानीको आपूर्ति बन्द भएको हो । पहिलोरे भुदीखोला मुहानमा ५ वटा, रेशमा ९ वटा र दोबिल्लामा ३ वटा पाइप बगाएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए ।
ती स्थानमा आइतवारदेखि नै मर्मत गर्न र पानी सुचारु गर्न कर्मचारी तथा मदजुर खटिएपनि बर्षातले कठिन भैरहेको हो । निरन्तर बर्षातले मजदुरले पनि काम गर्न नसकेका हुन् । बजार क्षेत्रमा आएको अधिकांस पानी उक्त क्षेत्रबाट आएको छ । अहिले रिठेखोलाबाट प्रतिसेकेण्ड ३ दशमलब ५ लिटर, रेशबाट १७ लिटर र भुँदीखोलाबाट २० लिटर प्रतिसेकेण्ड पानी आइरहेको छ ।
पाइपलाइन नबग्दापनि संस्थाले धमिलो पानी बितरण गर्दै आएकोमा उपभोक्ताले बिरोध गरिरहेका छन् । बर्षातको खोलाको पानी सिधै ल्याएर उपभोक्ताकोमा पठाएपछि घरघरमा धमिलो र प्रदुषण भएको पानी आउने गरेको छ । यो पानीले स्वास्थ्यमा समेत गम्भिर असर पर्ने भन्दै बिरोध भैरहेको हो । केही दिनदेखि भने पानी आउनै छाडेपछि स्थानीय बासिन्दा आक्रोसित समेत छन् । पानी अभावले खाना पकाउन समेत नसकेको स्थानीयले बताए ।





