बागलुङ, ८ असार– बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार आयोजित नगरसभामा नगरप्रमुख जनकराज पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीतिमा स्वास्थ्य र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने उल्लेख छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध व्यवस्थित क्वारेन्टाइन निर्माण, आइसोलेसन र संक्रमित मैत्री कार्यक्रमपनि संचालन गर्ने नीतिमा उल्लेख छ । संक्रमितको सहज उपचारका लागि आइसोलेसन र उनीहरुलाई स्वरोजगारका लागि कार्यक्रम संचालन गर्ने उनले बताए ।
नीतिमा सहरी शासकीय क्षमता बिकास कार्यक्रम अन्र्तगत कोभिड १९ प्रभावित आर्थिक गतिविधि उकास्ने र रोजगारी सिर्जनाका लागि श्रममूलक कार्यक्रम लागू गरिने उल्लेख छ ।
नीतिमा मालिका लगायतको क्षेत्रमा प्राणी उद्यान निर्माण गर्ने, कृषि क्याम्पस संचालन गर्ने लगायतको कार्यक्रम उल्लेख छ । नीतिमा उद्योग ग्राम स्थापना र संचालन, ढल निकास, सिटी हल निर्माण तथा कृषि शित भण्डार बनाउने लक्ष राखिएको छ । कृषिको उत्पादकत्व बढाउन बा“झो जमिन राख्न नदिने नीति बनाएको छ । बा“झो राखेकालाई बढी कर लागाउने गरी नीति बनाइएको छ ।
तामाखानी अध्ययन र उत्खनन्, शहरी अस्पताल निर्माण, बलेवा बिमानस्थल कालोपत्रे गर्ने र नियमित जहाज संचालन गर्ने नीति लिइएको छ । आधुनिक बसपार्क निर्माण, एक घर एक धारा आयोजना, सार्वजनिक जग्गा संरक्षणको अभियान समेत संचालन गर्ने पौडेलले बताए । कृषि क्षेत्रमा काम गर्ने तथा व्यवसाय संचालन गर्नेलाई सुलभ कर्जा उपलब्ध गराउने नीति छ । सबै वडामा बस सेवा संचालन गर्ने गरी सडक संजाल बिस्तार र स्तरउन्नतीगर्ने समेत बताइएको छ ।





