बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढिकी जाँतो संरक्षणमा बेनी नगरपालिका

ढिकी जाँतो संरक्षणमा बेनी नगरपालिका


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७७, सोमबार

म्याग्दी, ८ असार– परम्परागत प्रविधि र सिपमा आधारित रहेर बनाइएका पुराना साधनहरु गाउँबाट हराउँदै जान थालेपछि संरक्षण गर्न लागिएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाले वडास्तरमा रहेका पुराना हाते सिपका ढिकी, जाँतोलगायत साधनहरुलाई जोगाउन थालेको हो ।
बढ्दो आधुनिकतासँगै डिजेलको सहयोग तथा विद्युतबाट चल्ने मिल समेत गाउँगाउँमा पुगेपछि पुराना प्रविधिका साधनहरु लोप हुने अवस्थामा पुगेका थिए । तर पछिल्लो समय बेनी नगरपालिका र केही वडामा योजना नै बनाएर ढिकी, जाँतोलगायत साधनको संरक्षण तथा सदुपयोग गर्ने अभियान सुरु गरिएको छ । गएको आर्थिक वर्ष २०७४÷७५ मा बेनपा–१०, पात्लेखेत वडाले वडाभित्र ढिकी जाँतो संरक्षणको योजना अगाडि सारेको थियो ।
यसैगरी गतवर्ष बेनपा–९, घतानको वडा कार्यालयले पनि वडाबाट योजना र बजेट विनियोजन गरेर समुदायस्तरमा आवश्यक पर्ने ढिकी, जाँतो संरक्षण गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षमा बेनी नगरपालिका–४, नम्बर वडा सिङ्गाले पनि राक्से र तातोपानी बजार क्षेत्रलाई लक्षित गरेर ढिकी जाँतो संरक्षणको कार्यक्रम सञ्चालन गरेको छ ।
वडामार्फत लेतेखोला ढिकी जाँतो निर्माण तथा संरक्षण भवनसम्बन्धी योजना बनाएर चारलाख ५० हजार रुपैयाँमा भवनसहित ढिकी जाँतो निर्माण गरी सञ्चालनमा ल्याइएको छ । ढिकी जाँतो भवन निर्माण तथा संरक्षण उपभोक्ता समितिका अध्यक्ष तुलप्रसाद श्रेष्ठले वडाबाट प्राप्त बजेट चारलाख तथा स्थानीयको ५० हजार रुपैयाँ बराबरको जनश्रमदानमा ढिकी जाँतो संरक्षण गरिएको जानकारी दिए ।
ग्रामीण भेगबाट ढिकी, जाँतोलगायत परम्परागत हाते सिपमा आधारित भएर निर्माण गरिएको घरेलु प्रविधिहरु हराउँदै जान थालेपछि यिनको संरक्षण गर्न योजना माग गरी कार्यान्वयन गरिएको उनले बताए ।
आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेको रैथाने प्रविधि लोप हुँदै गएको पाइन्छ । परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरु हराउँदै गएपछि पर्यटकीय जिल्ला म्याग्दीको ग्रामीण पहिचान पनि मेटिने सम्भावना उत्तिकै छ । अघिल्लो पुस्तासम्म निर्माण तथा प्रयोगमा रहेका साधनहरु हराउँदै जान थालेको हुँदा संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ ।
गाउँघरमा ढिकी, जाँतोबाट कुटेको र पिँधेको खानेकुरा स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । लोप हुन थालेको ढिकी, जाँताको संरक्षण गरी निर्माण गरेपछि स्थानीयलाई कुटानी, पिसानीका लागि धेरै सहज भएको सिंगाकी लक्ष्मी पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->