म्याग्दी, ११ असार– गत जेठ महिनाको ३० गते बैदेशिक रोजगारको सिलसिलामा कुवेतमा गएर फर्किएकी बेनी नगरपालिका–२ की एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कुवेतबाट उद्धार गरी बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेकी २६ बर्षिया महिलालाई कोरोना पुष्टी भएका हो । उनको स्वाब परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा असार ३ गते पठाइएको थियो । घरेलु कामदारको रुपमा कुवेत पुगेर फर्किएकी महिलामा कोरोना पुष्टीसँगै म्याग्दीमा भारतबाहेक तेस्रो मुलुकबाट फर्किएकोमा कोरोना पुष्टी हुनेको संख्या २ पुगेको छ ।
यसअगाडी यूएईबाट फर्किएका मालिका गाउँपालिका–३ का पुरुषमा समेत कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।
‘बिहिबार थपिएका संक्रमतिको ‘कन्ट्याक्ट ट्रेसिङ हुदैछ,‘संक्रमतिलाई आइसोलेसनमा लैजाने लगिएको छ’ उनले भने । हालसम्म म्याग्दीमा देखिएका १४ जना संक्रमितमा २ जना बाहेक सबै भारतबाट फर्किएका हुन् । दुई जना निको भएर घर फर्किएका छन् भने १२ जना आइसोलेसन कक्षमा छन् । खुल्लामञ्चमा रहेको आइसोलेसन कक्षमा २० जनाको क्षमता रहेको छ । हाल एक बालिका सहित एक महिला आइसोलेसनमा छिन् ।





