बागलुङ, १४ असार– सदरमुकामदेखि पश्चिम बागलुङका ७ पालिकामा जान मध्यपहाडी लोकमार्गको बोक्से, खहरे, अक्षेतेको सडकमा यात्रा गर्नुपर्छ ।
लोकमार्गले रुकुमहुँदै पश्चिम नेपाल जोडेको छ । त्यसैले अब जिल्ला भित्रका मात्र नभई धेरै जिल्लाबासीले प्रयोग गर्ने यो सडक भने सधैंको जोखिममा परिरहेको छ । जोखिम मोलेरै यात्रा गरेकाहरुपनि घण्टौ अवरोधमा बस्ने बाध्यता यहाँको अर्को समस्या हो ।
बोक्सेको गैह्रामा दैनिक र निरन्तर खस्ने पहिरो, सडक हिलाम्मे र जोखिमयुक्त भएपछि दर्जनौ सवारी साधन फस्ने गरेका छन् । ती सवारीको कारण सयौं यात्रीले सास्ती खेप्नुपर्छ । दैनिक यो समस्या भैरहेपनि सडकमा सवारी साधन खुलाउने बिषय कसैको प्राथमिकतामा परेको छैन । अक्षेतेमा रहेको ट्राफिकले समेत सडक खुले नखुलेको जानकारी राख्दैन । सदरमुकामबाट छुटेका गाडि समयमा गन्तव्यमा पुगे नपुगेको चासो राख्ने त कनै निकाय छैन । बरु दिनभर बाटैमा अलपत्र परेको पनि ट्राफिकले थाहा नपाएको जिप चालक नारायण कार्कीले बताए ।
यो सडकमा तीन पटक सम्म ठेकेदार फेरिएरपनि सडक स्तरउन्नती भएको छैन । बरु झनझन जोखिममा परिरहेको छ । खहरे नजिकै गत कात्तिकमा खनेको सडक अलपत्र परेपछि अहिले पहरो समेत खस्ने खतरा बनेको छ । ‘साँघुरो भएपनि पहिला सजिलो थियो, अहिले झनै खतरा बढेको छ’ कार्कीले भने, ‘एउटा सवारी फस्यो भने खुलाइदिने प्रयास समेत कसैले गर्दैन, बरु त्यो दिनको यात्रा नै रोकेर फर्कनुपर्छ ।’ लकडाउनको तीन महिना सम्म पनि यो सडकलाई पहिरो मुक्त बनाउने वा कम्तिमा एकतर्फी भएपनि नियमित चल्ने बनाउन कसैले चासो नराखेको उनको गुनासो थियो ।
बीहुँ खण्ड र काठेखोला गाउँपालिका जाने दोबिल्ला खण्डपनि उस्तै छ । कतिपय स्थानमा खसेका पहिरो कसैलेपनि पन्छाएका छैनन् । बरु दोबिल्लामा गराला तेर्साएर सडक समेत रोकिएको छ । यसरी सडक रोक्दा अत्यावस्यक सामान ढुवानीमा पनि सास्ती खेप्नु परेको बागलुङ नगर खानेपानी तथा सरफाई उपभोक्ता समितिका पदाधिकारीले बताए । ‘गरालो तेर्साएर बाटो अबरोध गरेपछि सातदिनदेखि अबरुद्ध भएको खानेपानी लाईन मर्मत गर्न लगिएको पाइप व्यक्तिले बोकेर कटाउनु परेको थियो’ ती सदस्यले भने, ‘संवेदनशिल बिषयमा पनि कसैको ध्यान गएको छैन ।’ प्रशासन र गाउँपालिका समेत यो बिषयमा गम्भिर नबनेको उनले बताए ।
अक्षेते तर्पmको सडक पनि उत्तिकै जोखिमको छ । बिहुँको सुल्डाँडा, इनारपानी र ठूलोढुंगा लगायतका स्थानमा पनि दर्जनौ पहिरो, सडक भासिने र चर्किने समस्याले यात्रा जोखिमको बनेको छ । ती स्थानमा बर्षात लागेपछि माटो खनेर सडक सम्याउने काम थालिएको छ । लगातारको बर्षातले हिलाम्मे हुँदा बिच्छाएको माटोपनि बग्ने र सडक चिप्लो बनेर जोखिम बढाएको हो ।
पश्चिम तर्फपनि यो सास्ती उस्तै छ । घोडाबाँधेदेखि गलकोट जाने सडकको रगेनीमा निरन्तर पहिरो खस्छ । तर सडक खुलाउने बिषयमा चासो कसैले राखेको छैन । बरु जिप चालकहरुले ढुंगा पन्छाएर सवारी पठाउने गर्छन् । गलकोट देखि ताराखोला जाने सडक पनि बर्षात लागेपछि मात्रै मर्मत थालिएको छ । असार लागेपछि डोजर र एस्काभेटर लगाएपछि दर्जनबढी स्थानमा खसेका पहिरो अलपत्र छन् । कोरोना संक्रमित भेटिएमा एम्बुलेनस मार्फत बिरामी सदरमुकाम ल्याउनुपर्ने सडक जोखिमको बनेको छ । हिलाम्मे, पहिरो खस्ने र ठूला ढुंगा खसेकोले साँघुरो बन्दा यात्रीले पनि सास्ती खेपेका छन् । घुम्मेली र ताराखोलातर्फ खाद्यान्न र अत्यावस्यक सामान ढुवानीमा पनि जिपले बढी जोखिम मोलेका छन् । बर्षात लागेपछि ट्रक भने हरिचौर सम्म मात्रै पुग्न सक्छन् । माथिल्लो खण्ड निर्माणाधिन भएकोले जान सकेका छैनन् ।
ताराखोलाका किसानले आलु उत्पादन गर्ने बेला भएको छ । उनीहरुले सवारी नचलेको र सडक सहज नभएकै कारण बजार पठाएर बिक्री गर्ने अबसर समेत नपाएको गुनासो गरेका छन् । दूध उत्पादन गर्ने किसानले सडक समस्याले हिउँदमा पनि सहजै बजार सम्म दूध पठाउन नपाएर गाउँमा मात्रै खपत गर्न बाध्य भएको गुनासो गरे । ‘हामीले गाउँमै घिउ बनाएर बेच्नेबाहेक अन्य प्रयोग गर्न सकेका छैनौं’ स्थानीय एक किसानले भने, ‘सडक कहिले सजिलो होला र सुख पाइएला भन्दाभन्दै मर्ने दिन आइसक्यो ।’





