सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कार्यान्वयन नहुने कार्यक्रममा बजेट !

कार्यान्वयन नहुने कार्यक्रममा बजेट !

आर्थिक बर्षको अन्तमा रकमान्तर गर्न सहज हुने बजेट ल्याउँदा घाटा हुन आएको रकमको पूर्ति गर्न सहज हुने


  • ढोरपाटन संवाददाता
  • असार २० २०७७, शनिबार

बागलुङ, २० असार– सुन्तला, कागती, कफी, अलैची र महको बजारीकरणका लागि जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, यो बजेट कार्यान्वयनमा भने आएन् ।
योग शिविर गर्ने भन्दै नगरले बनाएको कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमको लागि ४ लाख ५० हजरा रुपैयाँ बजेट थियो । यस्ता कयौं कार्यक्रमहरु चालु आर्थिक बर्षको बजेटमा थिए तर कार्यान्वयनमा भने आएनन् ।
ससर्त अनुदानको शिर्षकबाट बजेट बिनियोजन नभएकाले खर्च नभएको रकम अरु योजनाका लागि खर्च गरियो । चालु बर्षमा कार्यान्वयन नभएका कार्यक्रमको लागि नगरले आगामी आर्थिक बर्षको लागि पनि बजेटको व्यवस्था गरेको छ । किसानलाई तत्कालै नगद आर्जन गर्न सकिने बालीतर्फ आर्कषित गर्ने र बजारको समस्या भए नगरपालिकाले खरिद गरेर बजारीकरण गर्ने उदेश्यले सुन्तला, कागती, कफी, अलैची र महको बजारीकरणका लागि २० बजेटको व्यवस्था गरिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । योग, सार्वजनिक सुनुवाई, आयुर्वेद चिकित्सालगायतका शिर्षकमा बजेट बिनियोजन भएको छ ।
बागलुङ नगरपालिकाले पूर्व मेयर ऋषिराम शर्माको सम्झनामा शहरी गरिबी न्युनिकरण गर्ने भनेर कार्यक्रम बनायो । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट थियो । तर, यो कार्यक्रम कार्यान्वयनमा आएन् । चालु आर्थिक बर्षमा पनि यो कार्यक्रमको लागि बजेट बिनियोजन भएको छ ।
विरशाली पन्त साहित्य पुरस्कार, गोविन्द अधिकारी शैक्षिक पुरस्कार चालु आर्थिक बर्षमा पनि थिए । कार्यान्वयन भएनन् र रकम सञ्चित कोषमा फर्कियो । आगामी आर्थिक बर्षको लागि समेत उल्लेखित कार्यक्रमसहितका कार्यान्वयनमा नआउने कार्यक्रमको लागि बजेटको व्यवस्था छ ।
काठेखोला गाउँपालिकाले चालु आर्थिक बर्षमा प्रशासनिक भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, प्रशासनिक भवन बनेन् । आगामी बर्षको लागि समेत भवनका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।
सशक्तिकरणका लागि बिनियोजन भएका अधिकांश कार्यक्रम कार्यान्वयनमा आएनन् । कार्यान्वयन नभएका कार्यक्रमहरु आगामी बर्षको लागि छुटाईएको छैन् ।
उल्लेखित तीनवटा स्थानीय तहमा जस्तै जिल्लाका अधिकांश स्थानीय तहले नीति तथा कार्यक्रम र बजेटमा केन्द्र तथा प्रदेश सरकारले पठाउने ससर्त अनुदान बाहेकका कार्यक्रमहरु कार्यान्वयन हुनेभन्दा नहुनेमा बढी जोड दिने गरेका छन् ।
आर्थिक बर्षको समाप्ती हुनेबेला रकमान्तर गरेर अन्य योजनामा लगाउनेगरी सञ्चित कोषमा रकम फर्काउनकै लागि स्थानीय सरकारले यस्ता कार्यक्रमहरु ल्याउने गरेका छन् । देख्दा राम्रा र आकर्षक मानिने कार्यक्रममा बजेट बिनियोजन गर्दा लोकप्रिय देखिए पनि कार्यान्वयन भने नहुने गरेका हुन् ।
‘कोभिड–१९ को प्रभावले यो बर्ष कार्यक्रम गर्न सकिएन’ जैमिनी नगर प्रमुख इन्द्रराज पौडेलले भने ‘अर्को बर्षको कार्यक्रम कार्यान्वयनमा आउँछ ।’ गतबर्ष जैमिनीले ल्याएको कार्यक्रममध्ये सुन्तला, कागती, कफी, अलैची र महको बजारीकरणका लागि बिनियोजन भएको बजेट निकै चर्चित भएको थियो । पुसमा फसल दिने सुन्तलाको बजारीकरणमा चैतबाट सुरुभएको लकडाउनको प्रभाव परेको अस्वभाविक स्पष्टिकरण नगरपालिकाले दिने गरेको छ ।
चालु आर्थिक बर्षमा गरिबसँग मेयर ऋषिराम कार्यक्रम कार्यान्वयनमा समस्या भएकोमा बागलुङ नगरपालिका पनि सहमत छ । बिधि नबनेको बहाना बनाएको नगरपालिकाले आगामी आर्थिक बर्षमा कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रमुख जनकराज पौडेल बताउँछन् ।
काठेखोलाले पनि कोरोनाको त्रास र जग्गाको अभावले कार्यान्वयनमा समस्या रहेको बताउँदै आएको छ । स्थानीय तहले कार्यान्वयन नहुने कार्यक्रम बनाउँदा आर्थिक बर्षको अन्तमा रकमान्तर गर्न सहज हुने बजेट ल्याउँदा घाटा हुन आएको रकमको पूर्ति गर्न सहज हुने एक कर्मचारीले बताए ।
संघ र प्रदेशले बिभिन्न शिर्षकमा पठाउने अनुदानको सिलिङ अनुसारको निकासा नआउने भएकाले पनि स्थानीय तहले यस्ता कार्यक्रमका बजेटलाई सञ्चित कोषमा फर्काएर पूर्वाधार निर्माणजस्ता सबै खर्च हुने योजनामा खर्च गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->