
म्याग्दी २३ असार – गएरातीदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । गएरातीदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडक खण्डको अन्नपूर्ण गाउँपालिका २ तातोपानीको नागढुंगा,दानाको ढुवारी खोला,गुइठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ ।
लगातार वर्षा,भीरालो जमिन र कमजोर भूवनोटका कारण सडक माथिबाट ढुंगामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।
बर्षा नरोकिएसम्म अवरुद्ध सडक संचालन गर्न नसकिने शेरचनले बताए । मुस्ताङलाई राष्टिय राजमार्गसंग जोड्ने ७६ किलोमिटर सडकखण्ड अन्तर्गत सवैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ । वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नु पर्ने वाध्यता रहेको छ ।
बेनी–दरबाङ सडक बन्द
यसैबीच बेनी–दरबाङ सडक खण्ड अन्तर्गत एक दर्जन भन्दा बढि ठाउँमा हिलो,बाढि र ठाडो खोलाका कारण सडक अवरुद्ध हुँदा यातायातका साधनहरु विच बाटोमा नै अलपत्र परेका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वर्षासंगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधन आवतजावतमा ठूलो जोखिम रहेकाले सर्तकर्ता अपनाउन अनुरोध गरेका छन् ।वर्षासंगै जिल्लाका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन् ।
मालढुङ्गा–बेनी सडक पनि अवरुद्ध, ट्रकमा क्षति
म्याग्दीलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–मालढुंगा सडक पनि मंगलवार रातीदेखि अवरुद्ध भएको छ । मंगलवार साँझदेखि परेको अविरल वर्षका कारण पर्वतको जलजला गाउँपालिका ४ वारीवेनीमा झरेको ढुंगा सहितको रेलोले मालबाहक ट्रकलाई क्षति पु¥याएको वारीवेनी प्रहरी चौकीले जनाएको छ ।
सडक खण्ड अन्र्तगत जलजलादेखि मालढुंगासम्मका विभिन्न स्थानमा वाढि र पहिरोका कारण सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेका पनि वर्षा भैरहेकाले समस्या भएको प्रहरीको भनाइ रहेको छ । वर्षासंगै आएको बाढीले पर्वत बेनीको खानेपानीको पाइपमा समेत क्षति पुर्याएको छ ।
वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको जलजला गाउँपालिकाले जनाएको छ । डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेका भए पनि वर्षाले गर्दा समस्या भएको छ ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन पर्वत वेनीमा नै अलपत्र परेका छन् ।





