बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

पोखरामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो


  • संजय रेग्मी/विजय नेपाली
  • असार २६ २०७७, शुक्रबार

पर्वत, २६ असार– वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीमा मृत्यु हुनेहरूको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार, पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो । बिहिबार राती साढे २ बजेको समयमा गएको पहिरोले घर पुर्दा पोखरा महानगरपालिका–१८ सराङकोटको गोठादीमा एकै घरका ५ जनाको मृत्यु भएको छ ।
स्थानीय टंक बहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ५० वर्षीय टंक बहादुर थापा, उनकी ४५ बर्षिया श्रीमती सोममाया थापा, ११ बर्षिया ईशीका थापा, मृतक टंकको दाइको नाति ६ वर्षीय सुवान थापा र ८ वर्षीय शीतल श्रेष्ठ रहेका छन् ।
घाइते हुनेहरूमा टंक बहादुरकी २२ बर्षिया छोरी पिंकी, १८ बर्षिया आशा, पिंकीकी ५ बर्षिया छोरी पीरिशा, तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ बर्षिया सरस्वती श्रेष्ठ, सरस्वतीका १० वर्षीय छोरा सन्देश, टंक बहादुरको छिमेकी १९ वर्षीय अनीश तामाङ, १९ बर्षिया रशि थापा र १९ बर्षिया रश्मी थापा रहेका छन् ।
घाइतेहरूलाई मणिपाल शिक्षण अस्पतालमा र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएको छ । उनीहरुको टाउको, हातखुट्टा, छाती लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुई जनाले भने पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचाउन सफल भएका थिए ।


यस्तै, कास्कीकै पोखरा महानगरपालिका–२५ हेम्जामा गएको पहिरोमा परी एक ७० बर्सिया महिलाको मृत्यु भएको छ । स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी हमालले जानकारी दिए ।
उता, पोखरा महानगरपालिका–२६ स्थित पैतेको डाँडामा आएको पहिरोमा परी १ पुरुषको मृत्यु भएको छ । बिहिबार राती आएको पहिरोले घर पुर्दा अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको हो । डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा दुर्गाबहादुरकी श्रीमती, १ छोरा र १ छोरीलाई सकुशल उद्धार गर्न सफल भएको थियो । बेपत्ता रहेका दुर्गाबहादुर भने शुक्रवार बिहान मृत भेटिएका हुन् ।
घरमा पहिरो झरेपछि पोखरा उपमहानगरपालिका १८ छोरेपाटनको सिमलटुँडामा ३ जना घाइते भएका छन् । स्थानीय चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । घाइतेको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।
पोखरा उपमहानगरपालिका ५ मालेपाटनको सुकुम्वासी बस्तीमा बस्दै आएका २ जना पनि घाइते भएका छन् । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो ।

तस्बिर : विजय नेपाली/पोखरा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->