म्याग्दी, २६ असार– हिमाली जिल्ला म्याग्दीमा बिहिबार राती परेको अविरल बर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन्भने ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारी अनुसार, धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा ८ जना र मालिका–६ दुखु खोलाले बगाएर एकजना महिला बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।
यसैगरी, धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा परी २ जनाको मृत्यु भएको उनले बताए । यता, रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ ।
पहिरोमा परी मराङमा २० घर, ताकममा ५ घर, विममा १० घरमा क्षति पुगेको प्रशासनले जनाएको छ । राहत र उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मीसहितको टोली हिडेको उनले जानकारी दिए । भौगोलिक अवस्थाका कारण उद्धारमा ढिलाई भएको छ । पहिरोमा परी घाइते भएकाहरुलाई उद्धार गर्न हेलिकप्टरको सहायता माग गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।
सहायक प्रजिअ सुवेदीका अनुसार, मराङमा रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीनजना बेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीनजना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र बिरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
यसैगरी, मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा बिष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार, नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ ।
बिम तल्लो गाउका पूर्ण नेपाली र बिरबहादुर नेपालीको घर पुरिदा पाँचजना बेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।
विपद व्यवस्थापन तथा राहत र उद्धारका लागि जिल्लामा रहेका सवै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखिएको छ ।
ठाडाखानीको लापुखोलाले बगाएर एकको मृत्यु
रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोठमा जाँदै गरेका एक पुरुषलाई खोलाले बगाएर मृत्युभ एको छ । ठाडाखानी गाउँबाट गोठतर्फ जाँदै गरेका ५० वर्षिय ललिमान छन्त्याललाई आज बिहान खोलाले बगाएर मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिए । छन्त्यालको शब भेटिएको छ ।
कुइनेमा दुई घर विस्थापित
रघुगंगा गाउँपालिका–८ कुइनेमा पनि पहिरोका कारण दुई घर विस्थापित भएका छन् । स्थानीय अमर छन्त्यालका अनुसार, मन बहादुर छन्त्याल र नरेश छन्त्यालको घर पुरिएको छ भने कर्मन छन्त्याल, पदम छन्त्याल, मिम छन्त्याल, यमया छन्त्याल र भविलाल विकको खेत र खेलकुद मैदानमा क्षति पुगेको छ ।





