सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दी पहिरो अपडेट : प्रभावित ठाउँमा अझै पुगेनन् सुरक्षाकर्मी !

म्याग्दी पहिरो अपडेट : प्रभावित ठाउँमा अझै पुगेनन् सुरक्षाकर्मी !


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

म्याग्दी, २६ असार – म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको पहिरो प्रभावित ठाउँका बासिन्दा उद्धारको पर्खाइमा छन् ।  सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शुक्रबार दिउँसोसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् । बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, शसस्त्र प्रहरी र स्वयम सेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन् । मालिका-७ बिममा इलाका प्रहरी कार्यालय दरवाङ र मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली दिउँसो पुगेको छ ।
कल्लेनीहुँदै मराङ जाने गोरेटो र घोरेटो बाटो नभएकाले उद्धारका लागि धारापानीबाट जान लागेको टोलि फिर्ता भएको किरन थापाले बताए ।  मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जनप्रतिनिधि, स्थानीयबासी, युवा क्लव र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र वेपत्ताको खोजी गरिरहेको बताए । चारै तिरै पहिरोले घेरेकाले कल्लेनीका पचासजनाभन्दा बढी उद्धारको प्रतिक्षामा एकै ठाउँमा भेला भएर बसेको स्थानीय रत्नप्रसाद पुनले बताए । घण्टीवाङका पहिरो पीडित १३ परिवार आरवाङमा आएका छन् । सिडिओ ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पुर्‍याउने तयारी भएको बताए ।
दिउँसो पानी पर्न रोकिएर बादल हटेपछि आएको सेनाको हेलिकोप्टर अर्थुङ्गको ब्यारेकमा छ । शुक्रबार बिहान वर्षापछि आएको पहिरोमा पुरिएर मराङको कल्लेनीमा ३, राम्चेमा १०, रिखमा ७, ठूलोगाउँमा १ र कुम्रिमा १ जना वेपत्ता भएका थिए । कल्लेनीमा १ र ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको स्थानीयले जानकारी गराएका वडा अध्यक्ष सुवेदीले बताए । बिमको तल्लोगाउँका ५, दुलेका २ र नौरुका १ जनाको खोजी भइरहेको छ । रघुगंगा गाउपालिका-६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले बताए।
गाईभैसीलाई घाँस दिन घरबाट गोठमा जाने क्रममा छन्त्याललाई बगाएको थियो । घटनास्थलदेखि ३०० मिटर तला उनको शव भेटिएको छ ।  यसैगरी मालिका गाउँपालिका-६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई वेपत्ता बनाएको छ । खोला तर्ने क्रममा वेपत्ता भएकी रोकाको खोजी जारी छ ।
पहिरो र बाढीले धवलागिरी र मालिका गाउँपालिका जोड्ने दाङखोलाको अस्थायी मोटरेबल पुल, बेनी-जोमसोम सडकको राहुघाट बेलिब्रिज, बिमको शिवरात्रीस्थित ट्रस पुल बगाएको छ । ताकम स्वास्थ्य चौकीको पुरानो भवन, मंगलाघाट प्रहरी बिटको भवन, नौमानेको शिव आधारभूत र ताकम माविको भवन भत्कीएको छ । रघुगंगा-३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ । यसैगरी सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्र जोड्ने सबै सडक र पश्चिमी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->