पोखरा, २७ असार – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । धवलागिरि गाउँपालिका-६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । वडा अध्यक्ष राजाराम सुवेदीले कल्लेनीमा १, ठूलोगाउँमा १ र राम्चेमा ७ जनाको शव भेटिएको बताए। मालिका गाउँपालिका-७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता ८ जनाको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेका वडा अध्यक्ष रेशम जुग्जालीले बताए। नेपाली सेनाको हेलिकप्टर मार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्।
शुक्रबार तीन जनाको शव भेटिएको थियो । उनीहरूको थप विवरण आउन बाँकी छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा वेपत्ता भएका थिए । बेपत्ता हुनेहरुमा धवलागिरि-६ मराङका १४ जना र मालिका गाउँपालिका-७ बिमका ९ जना छन् ।
९३ घर परिवार विस्थापित
मालिका गाउँपालिका-५ देविस्थान र धवलागिरी गाउँपालिका-७ काफलडाँडामा पहिरोका कारण ९३ घर परिवार विस्थापित भएका छन्। केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ।





