
तनहुँ, २९ असार– तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा ११ जना पुरिएर बेपत्ता भएका छन् । निरन्तरको बर्षासँगै आएको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ कै एक बृद्धा पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका–१ का एक सहित ११ जना बेपत्ता भएका छन् । ऋषिङ गाउँपालिका–८ का अनबहादुर थापाको ५ जना एकै घरका छोरा, बुहारी र नातिनी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यस्तै व्यास–९ माझकोटको केशरबहादुर थापाको घर भत्किदा ४ जना र सोही ठाउँका मान बहादुर घर्तीको ७० वर्षीया आमा घर भत्किदा पुरिएको तिमिल्सिनाले बताए । ऋषिङमा स्थानीयवासीले उद्दार कार्य भइरहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । व्यास नगरपालिकाका ९ माझकोटमा भने प्रहरी उपरीक्षक अरुण पौडेलको टोलीद्वारा उद्दार भइरहेको उनले बताए । मादी नदी र बुल्दि खोलामा ठूलो बाढी आउँदा बसपार्क वरपरका मानिसहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।





