फाईल फोटो
पोखरा, ६ साउन – अविरल वर्षासँगैको पहिरोमा परी सोमबार गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । सोमबार दिउसो २ः३० तिर तनहुँको भानु नगरपालिका–९,सिमगैरामा पहिरोले घर पुँरिदा ८० वर्षीया तिलमाया धराली बेपत्ता भएकी हुन् । पहिरोले स्थानीय महिन्द्र धराली र उनका भाईको घर बगाएको छ । सो पहिरोमा परेकी १७ वर्षीया त्रिप्सा धरालीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोकै कारण तनहुँको शुक्लागण्डकी नगपालिका–७, स्याउलीबजारमा घर तल पहिरो जाँदा ८ वटा घर खतरामा रहेका छन् । ती घरमा बस्ने ३६ जनालाई सोही ठाउँको शुक्ला आधारभूत विद्यालयमा सारिएको छ ।
यता, गोरखाको गण्डकी गाउँपालिका–फुजेलकौदीमा पहिरोमा परी ३४ वर्षीया लक्ष्मी गुरुङ पनि हराइरहेकी छन् । गुरुङ बाख्राको गोठमा घाँस हाल्न जाने क्रममा माथिबाट आएको पहिरोमा परेकी हुन् । पहिरोका कारण गोरखा नगरपालिका–२, कटुसघारीस्थित गोरखा–आरुघाट सडकसहित सिरान्चोक गाउँपाकिलामा पर्ने भच्चेक–पालुङटार सडकखण्ड र अजिरकोट गाउँपालिकास्थित बाह्रकिलो–बारपाक सडकखण्डमा पनि व्यापक क्षति पुगेको छ । यता, मनाङको नासो गाउँपालिकामा रहेको म्यार्दी भीरस्थित बेसिसहर–चामे सडक खण्डमा पहिरो जाँदा बाटो अवरुद्ध बनेको छ । लमजुङमा पहिरोका कारण राइनास नगरपालिकाअन्तर्गत पर्ने गोप्लीटारमा मध्यपहाडी राजमार्ग अवरुद्ध बनेको छ ।
स्याङ्जामा वर्षाका कारण बिरुवा गाउँपालिका–६, चिन्नेबासमा एउटा घर भत्किएको छ । स्थानीय ६२ वर्षीय ऋषिराम कोइरालाको खरले छाएको घर भत्एिकपछि उनीसहित ३ जनाले दाजुको घरमा शरण लिएका छन् । स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–२, लसर्घाबेसीस्थित गाउँमा राङ्दीखोला पस्दा करिब ९ वटा घर हिलाम्ये भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन् ।





