बागलुङ, ११ साउन– पहिरोले घर भत्काएपछि विस्थापित भएका बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका यादव रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले आर्थिक सहयोग गरेको छ ।
पत्रिकामा कार्यरत रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले स्थापना गरेको ‘ढोरपाटन राहत कोष’ र पत्रिकामा कार्यरत सञ्चारकर्मीहरुबाट स्वस्फुर्त जम्मा भएको २५ हजार ५ सय रुपैयाँ राहत रकम रेग्मीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
आईतबार रेग्मी परिवारले आश्रय लिएर बसेको मालिकास्थित एक सत्तलमा पुगेर पत्रिकाको टोलीले राहत रकम हस्तान्तरण गरेको थियो । उक्त रकम पत्रिकाका कार्यकारी सम्पादक रामकृष्ण बोहरा र बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका वडासदस्य गुमा चर्माकारले संयुक्त रुपमा रेग्मी परिवारलाई हस्तान्तरण गरेका थिए ।
राहत रकम हस्तान्तरण गर्दै चर्माकारले विपद्का कारण समस्यामा परेका परिवारलाई आर्थिक सहयोग गर्ने सामाजिक दायित्व निर्वाह गरेको भन्दै ढोरपाटन परिवारलाई धन्यवाद दिईन् । पत्रिकाका कार्यकारी सम्पादक बोहराले राहत रकम ठुलो नभएपनि दुःखको बेला सहयोग गर्नु दायित्व भएको बताए ।
ढोरपाटन दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीलाई विपद्मा पर्दा पत्रिकाले ‘ढोरपाटन राहत कोष’मार्फत सहयोग गर्दै आएको छ । वडा कार्यालय नजिकैबाट ढलान गरेको सडक भत्किएर घर पुरिएपछि रेग्मी परिवार नजिकैको सत्तलमा बस्दै आएका छन् । बुधबार राती ८ बजे गएको पहिरोका कारण घरको गाह्रो सबै भत्किएको छ ।





