सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुधारिदै अस्पताल, धौलागिरि अस्पतालमा बन्यो लिफ्ट

सुधारिदै अस्पताल, धौलागिरि अस्पतालमा बन्यो लिफ्ट


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०७७, सोमबार

बागलुङ, १२ साउन – सुधारिदै अगाडि बढेको धौलागिरी अस्पताल बागलुङले आफ्नो निर्माणधिन आधुनिक भवनमा लिफ्ट जडान गरेको छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लामा रहेका सरकारी संरचनामध्ये लिफ्ट सञ्चालनमा ल्याउने अस्पताल पहिलो हो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ४१ लाख २४ हजार पाँच सय रुपैयाँको लागतमा लिफ्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिए । ‘यत्तिका ठुलो भवन बनाउँदा लिफ्टको स्टमेटनै रहेनछ, बिरामीलाई मर्का पर्ने देखेर हामीले मन्त्रालयमा माग गरि पठायौं’ रानाले भने ‘प्रदेश सरकारले बजेट दियो हामीले लिफ्ट बनायौं ।’
सयपत्री सोलुसन प्रा.लि.ले साउन जडानको काम सकेको जनाएको छ । ‘निर्माण कम्पनीले जडानको काम सकेको छ, केही प्राविधिक जाँचपछि हस्तान्तरण हुन्छ,’ अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले भने, ‘लिफ्ट तयार भएपछि अस्पतालमा आउने सेवाग्राहीदेखि सबैलाई सहज हुनेछ ।’ साउन १६ गतेअघि हस्तान्तरण गरेपछि लिफ्ट नियमित सञ्चालनमा ल्याउने योजनामा अस्पताल छ ।
लकडाउनका कारण गत आ.व.मै काम सक्नेगरी सुरु भएको काम रोकिएको थियो । अपांगमैत्री संरचना निर्माण र तलमाथि गर्न कठिन बिरामीको समस्यालाई समेत मध्यनजर गर्दैै लिफ्ट बनाईएको अस्पतालका नि. मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले बताए ।
अस्पतालका तीनतले तीनवटा भवनमध्ये कुनैपनि भवनमा लिफ्ट थिएन । निर्माण सम्पन्न भैसकेका ‘ए’ र ‘बि’ व्लक तथा निर्माणाधिन अवस्थामा रहेको ‘सि’ व्लकमा समेत लिफ्ट जडानको स्टमेट नरहेको रानाले बताए । ‘पहिले सबै कुरा हुन्छन भन्ने छैन’ राना भन्छन् ‘आवश्यकताका आधारमा थप गर्दै जानुपर्छ ।’
सरकारले चालु आ.व.को बजेट तथा कार्यक्रममा अस्पताललाई दुई सय बेडसहितको अस्पतालमा स्तरोन्नती गर्ने योजना अघि सारेकाले संरचनाको सुधार थप आवश्यक रहेको उनले बताए । अहिले अस्पतालमा दैनिक बिरामीको चाप हुने गरेको छ । ‘बि’ व्लकको दोस्रो तल्लामा ओपिडी रहेकाले बृद्ध तथा शारीरीक अपांगता भएकाहरुले पुग्नै कठिन हुने समस्या देखाउँदै आएका थिए । लिफ्ट बनेपछि त्यो समस्या समेत हटेर जाने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->