बागलुङ, १२ साउन – शनिबार राती ९ बजे बागलुङ नगरपालिका वडा नं. १ का वडा सदस्य सूर्य लामिछानेलाई फोन आयो । निरयघाट नजिकै भिषण पहिरो खसेर सवारी साधन पुरिएको सूचना पाएपछि उनले प्रहरीमा खबर गरे ।
प्रहरी निरिक्षक दिपक रिजाल र हेम केसीसहित प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगे । उक्त स्थानमा भीषण पहिरो खसेको थियो । पहिरोले एक जेसिभी डोजर पुरिएको देखियो । एक ट्रयाक्टर नदीमा खसेको र ट्रिपरको केही खण्डमात्रै देखिएको अवस्था प्रहरीले भेटायो ।
घटनास्थलमा मानिस पुरिएको आशंका भएपछि उद्वार कार्य थाल्न तयारी गरियो । रातको समय, अन्धकार र निरन्तर पहिरो खसेकोले उद्वार कठिन भयो । नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेनाका उद्वार टोली तयार भएपनि अन्धकारमा जोखिम मोलेर काम गर्न कठिन भयो । तत्काल जेनेरेटरको व्यवस्थापन गरियो । तर रातभर खटिएर पनि उद्वार हुन सकेन ।
घटनामा डोजरका चालक सम्पर्कमा आएको सूचना आएपछि कम्तिमा दुइजना पुरिएको आशंका बाँकी रह्यो । रातभरको प्रयास असफल भएपछि आइतबार बिहानैदेखि पुनः उद्दारको काम थालियो । उद्दारको क्रममा ११ बजे ट्रयाक्टर चालक धनबहादुर किसान (रोशन)को शव भेटियो । मृत्यु भएका धनबहादुर किसान बागलुङको मालिका निवासी हुन् ।
आर्थिक अबस्था कमजोर भएकोले लामो समयदेखि किसानले चालकको काम गर्दै आएका थिए । उनको श्रीमती, एक छोरी र १३ महिनाका एक छोरा छन् । टिपर चालक निर्मल पुन भने भेटिएका छैनन् । आइतबार दिनभरको प्रयासबाट पनि पुनको पत्तो नलागेपछि सोमबारसम्मका लागि खोजी अभियान स्थगित भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए ।
रातको समयमा भएको दुर्घटनाले धेरै प्रश्न उब्जाएको छ । उनीहरु किन रातको समयमा सवारी साधन लिएर जोखिमको क्षेत्रमा गए भन्ने चासो व्यक्त भएको हो । बाङगेचउरमा निर्माणाधिन सडक कालोपत्रेका लागि ग्राभेलको काम थालिएकोले त्यसका लगि सामाग्री लिन गएको स्थानीयको बुझाइ छ । रातको समयमा काम गर्दा भत्ता पाउने भएपछि चालकहरुले प्राय ः रातमा काम गर्दै आएको व्यवसायीहरु बताउँछन् ।
सडक विभागको ठेक्कामा उक्त खण्डमा भैरहेको काम तत्काल सक्ने लक्ष राखिएको थियो । तर पहिरो गएको स्थान विवादित स्थानसमेत हो । रामरेखा सामुदायिक वनको क्षेत्र भएकोले अनुमति नलिइ ढुंगामाटो उत्खनन् भएको टिप्पणी चलिरहे पनि सडक चाक्लो बनाउनुपर्दा थप खर्च लाग्ने भएपछि स्थानीयले अनुमति दिएको समेत बताइएको छ ।
‘सामाग्री निकाल्दा काम पनि हुने, जिल्ला समन्वय वा नगरपालिकाको लाखौं वचत पनि हुने भएकोले सबै मौन भएर काम लगाएका हुन सक्छन्’ स्थानीय उपभोक्ता राम शर्माले भने, ‘घटनाबारे सर्तकता नभएकोले मजदुरले ज्यान गुमाउनु प¥यो ।’ ‘सडक चौडा पनि हुने, ग्राभेलको काम पनि हुने भएकोले ठेकेदारको काममा सबै मौन सहमत थिए’ वडा नं. १ का वडा सदस्य सूर्य लामिछानेले भने, ‘वर्षात्को बेला रातमा काम गर्न नहुने थियो, त्यसले दुःखद घटना भयो ।’





