शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

एक पाइडले साइकलयात्री रसाइली

एक पाइडले साइकलयात्री रसाइली


  • दिवस गुरुङ
  • साउन १२ २०७७, सोमबार

नेपालकै सबैभन्दा ठूलो ताल रारा । कुनै समय थियो, नेपालमा रारा घुम्ने क्रेजले मार्केट पिटेको थियो । मुर्मु टपबाट धीतमरुन्जेल रारा तालको सुन्दरतामा हराउन कसलाई रहर नहँुदो हो ? कर्णाली प्रदेशले त ‘रारा घुमौं’ भन्ने मूल नारासहित वर्ष २०७५ लाई रारा पर्यटन वर्षको रुपमा घोषणा पनि गरेको थियो । कोही हवाइजहाज, त कोही गाडी वा बाइकमै रारा यात्रा तय गर्नेको लर्को थियो । यता उनको भने फरक थियो रारासम्मको यात्रा । फरक लक्ष्य अनि भिन्न अभिलाषा सहितको यात्रा । अझ भनौं एउटा अभियान, ‘अपांगता नागरिकहरुको समान सहभागिता, सामाजिक न्यायमा सुनिश्चितता’ । यात्रा उनको साइकलमा । त्यो पनि एक्लै । उनी एउटै खुट्टाको सहारामा १२ औं दिनमा कैलालीबाट रारा पुगेका थिए । रारा मात्र हैन, अपांगताहरुकै हकहितका लागि आवाज उठाउँदै साइकलमै नेपाल घुम्ने उनै हुन्, कैलालीका यमलाल रसाइली ।
ओशोको एउटा वाणी सम्झन पुग्छु, ‘मान्छे जिउन त सबै जिउँछन् तर यसरी जिउनु कि अरुको लागि प्रेरणाको स्रोत बनून् वा तिम्रा पदछापहरु पछ्याउँदै सुनौलो भविष्यको सपना बुनून् ।’ यस भनाइको सान्दर्भिकता उनको जिवनमा झल्किन्छ । उनी बाँचेका मात्र छैनन्, जीवनबाट हार मानेका कैयौंलाई बाँच्न प्रेरणा दिएका छन् । रसाइली एक आइकन हुन्, अर्को अर्थमा एक आइडल । उनका अतीतका संघर्षहरु, वर्तमान अनि भविष्यका सपनाहरु सुन्दा कुनै प्रेरणादायी व्यक्तित्वको जीवनीको अंश पढेको भान हुन्छ ।
मुडिकुवा, पर्वत जिल्लामा वि. सं. २०३४ सालमा जन्मेका हुन् रसाइली । ६ सन्तानमध्येका तेस्रो थिए उनी । एउटा सामान्य परिवारिक पृष्ठभुमिमा हुर्केका उनी अनि उनको परिवार पछि भैरहवा बसाइँ स¥यो । ४ वर्ष हुँदा तिहारको त्यो दुखद घटना सुनाउँदै उनले भने, ‘भैलो खेल्न म पनि साथीहरुसँगै गएको थिए । रातको समय, लडेर दाहिने खुट्टामा सानो घाउ हुन पुग्यो । समयसँगै खुट्टा सुनिएर हिँड्नै भएन । गाउँकै मुखियाले झारफुक गरिदिए । पछि वैद्यले त्यही खुट्टामा बासको काब्रो बेरेर जडीबुडी पनि लगाइदिए । तर घाउ निको हुनुको सट्टा केही दिनमा खुट्टा गनाउन थाल्यो । लुम्बिनी अञ्चल अस्पताल पुग्दा तानसेन मिसन अस्पताल रिफर गरिदिएका थिए । खुट्टा कुहिसकेको रहेछ । अन्तत ः दाहिने खुट्टा गुमाउन पुगें ।’ खुट्टा मात्र गुमाएनन् उनले, सँगै गुमाए बच्पनका रमाइला पलहरु । अनि गुुमाएँ बुनेका कैयौं सपनाहरु । एउटा दलित परिवार, त्यसमाथि अपांग छोरो । सिंगो परिवारलाई समाजले हेला र तिरस्कारको दृष्टिले हेर्न थाले । समाजले उनलाई अपांगको ट्याग भिराइदिए । बाध्य भएर उनको परिवार कैलालीमा बसाइँ स¥यो ।
टाढा थियो उनको विद्यालय । बाटामा स–साना काठे पुल पुलेसोहरु तरेर विद्यालय पुग्नु पर्ने बाध्यता । बैशाखी दुई काठबिचमा अड्किएर धेरै पटक लडेको तीता क्षणहरुको सम्झना छ उनमा । आम बच्चाको स्वभाव जस्तै उनी पनि चञ्चले थिए । बैशाखी टेकेर दौडदा छिमेकीका बाँधेका बाख्राहरु उफ्रन्थे । ‘एउटै खुट्टा हुँदा त यसले यति उधुम मच्चाउँछ, दुइटा भए यसले कति दुःख दिदाँे हो,’ छिमेकीको यस वाक्यले उनको मन अमिलो बनाउँथ्यो । घर पुगेर आमालाई रुदैँ सबै बेलीविस्तार लगाउँथे । भोलिबाट त्यो बाटो नहिँडी घुमाउरो बाटो हिड्थे । विद्यालयमा पनि उनलाई साथीभाइले हाँसोका पात्र बनाउँथे । ‘पढाइमा म औसत विद्यार्थी थिए तर परिस्थितिले विद्यालय जाने इच्छा विस्तारै मर्दै गयो,’ उनी विद्यालयकाल यसरी सम्झन पुग्छन्, ‘पढ्न मेरो रुचि नभएको हैन तर म बाध्य भएर ८ कक्षा पढ्दा पढ्दै विद्यालय जान छोडिदिए । एउटा अपांग छोरो, घरमा सबैलाई चिन्ताको विषय म नै थिए । घरमै तयारी गरेर वि.सं. २०५५ सालमा प्राइभेट एस.एल.सी उत्तीण गरेर पढ्ने इच्छा भने पूरा गरें ।’
नेपाल अपांग संघको शाखा थियो धनगढीमा । उनले त्यही सिलाइबुनाइको प्रशिक्षण लिए । समयसँगै यसैमा खारिदै अन्तत ः उनी प्रशिक्षक पनि बने । धनगढीमै डेरा लिएर सिलाइबुनाइ गर्न थाले । हरेक शुक्रबार उनी घर (कैलाली) आएर आइतबार बिहानै धनगढी फर्कन्थे । एउटा खुट्टा नभएको थाहा पाएपछि बसमा उनलाई चढाउन पनि सह–चालक हिचकिचाउँथे । ‘अर्को एक जनाले बस रोके मात्र म चढ्न पाउँथे, उनीहरुलाई लाग्दो हो, यो माग्ने हो, यसले बस भाडा दिदैँन,’ उनले थपें, ‘त्यस दिन पनि एक जनाले बस रोकेर म बसभित्र चढें । ऊ ओर्लेको थाहा पाउने बित्तिकै सह–चालकले मेरो झोला झ्यालबाट बाहिर हु¥याइदियो र मलाई पनि बसबाट बाहिर धकेलिदिए । झोलामा रहेको बा–आमाको फ्रेमको फोटो झ¥यामझुरुम्म फुट्यो । मलाई शारीरिक रुपमा भन्दा पनि मानसिक रुपमा गहिरो चोट पुगेको थियो । त्यो अन्तिम बस थियो । बस छुट्यो अनि त्यस दिन म घर जान पाइन ।’
उनी माथि दुव्र्यवहार गर्ने बसको नम्बर लिएर उनी जिल्ला प्रशासन कार्यालय उजुरी गर्न पुगें । उनलाई न्याय दिनुको सट्टा उल्टै हकार्दै कर्मचारीले यस्तो भनेको सम्झन्छन्, ‘यस्तो झिनामसिना कुरामा अल्झने हामीलाई फुर्सद छैन । बसको भाडा दिन मानेनौं होला तिमीले अनि कसले सित्तैमा चढ्न दिन्छ बस ।’ त्यस घटना नै उनको जीवनको टर्निक पोइन्ट बन्यो । घरको कमजोर आर्थिक अवस्था, बाइक वा स्कुटी किन्न सक्ने सामाथ्र्य थिएन परिवारको । अन्तिम विकल्प साइकल बन्यो । कुनै हालतमा उनलाई साइकल सिक्नु थियो । साइकल बिर्गादिने डरले अफिसका साथीहरुले उनलाई साइकल दिने कुरै भएन । दाइ घरमा नहुँदा उनले दाइको पुरानो साइकल ओरालोमा चलाउन प्रयास गरे । देब्रे पट्टिको पाइडल मारेपछि दाहिने पाइडल माथि आउथ्यो । दाहिने खुट्टा नभएपछि त्यसलाई अठ्याएर साइकल अघि बढाउन सकिदैनथ्यो । अनि उनी लड्थे । कैयौं पटक लडे तर उनले हार मानेनन् । देब्रे खुट्टाको चप्पल पाइडलमै बाँधेर चलाउँदा केही पर पुग्थे तर चप्पलको तुना चुडिन्थ्यो । अनि उनले दाहिने पाइडलमा गह्रौ वस्तु राखेर चलाउँदा केही सहज हुन्थ्यो । विस्तारै उनले साइकल चलाउन सिके । ‘मैले साइकल रहरले भन्दा पनि बाध्यताले चलाउन सुरु गरेको थिए । वास्तवमा कमजोर म थिइन, कमजोर त उनीहरुको मानसिकता थियो । अपांगहरु पनि अरु आम मानिसहरु जतिकै सबल हुन्छन्, यहीँ सबैलाई बुझाउनु थियो । अनि मेरा लागि बुझाउने माध्यम साइकल बन्यो,’ उनले भने ।
‘दिन प्रतिदिन साइकलमा पोख्त हुन थालें र धनगढी–कैलाली ४० किमी साइकलमै ओहोरदोहोर गर्न थालें,’ उनले उत्साहित हँुदै भने, ‘पहिला–पहिला बैशाखी टेकेर हिँड्दा मसँग नबोल्नेहरु साइकल चढेको देख्दा छक्क परेर मेरो साहसको प्रशंसा गर्न थालें । टाढिनेहरु नजिकिन थालें । घृणा गर्नेहरु माया गर्न थालें । अनि विस्तारै म जस्तै अपांगताहरुका हकहितका लागि आवाज उठाउँदै नेपाल साइकलयात्रा गर्ने मनमा हुटहुटी जाग्यो ।’ वि.सं. २०५६ फाल्गुन २६ गते महाकाली गड्डाचौकीबाट सुरु भएको नेपालयात्रा २ महिना १८ दिनमा पूरा गरेका थिए उनले । त्यस यात्रामा ३१ जिल्लाहरु उनले एउटै खुट्टाले टेकेनन् मात्र, यात्रा क्रममा ठाउँठाउँमा उनीजस्तै अपांगताहरुलाई भेटेर हौसला पनि दिन्थे । नयाँ वर्षमा रौतहट सुन्दरा पार्कमा फूलेका फूलहरु, चितवनमा बाटामा भेटिएका बाआमाले घरमै लगेर मोही खुवाएको सम्झना अनि झापा, धरान, काठमाडौं, पोखराका साइकले साथीहरुको हार्दिकता र माया अझै ताजै छन् अन्तरकुनामा उनको ।
विस्तारै उनी सबै माझ चिनिन थाले । साइकलमै टुर दी लुम्बिनी, टुर दी पोखरा, मकवानपुर राइड, काठमाडौं कोरा राइड, दाङ भ्याली राइडमा सहभागी मात्र भएनन्, त्यहाँ रहेका साइकल संघ वा साइकल सिटी संस्थाबाट धेरै सिकेर कैलालीलाई पनि साइकल सिटी बनाउने परिकल्पना साथै जोड दिए र अझै यसैमा लागिपरेका छन् ।
सुन्दर सुदुर पश्चिम सबैमाझ चिनाउने उनको सपना । उनी कैलालीमै रहेका ४÷५ जना साइकलेहरुसँग हरेक शनिबार नयाँनयाँ गन्तव्य पुग्छन् । मौका मिलाएर लामै यात्रा पनि तय गर्छन् उनी । उनको पछिल्लो लामो यात्रा, कैलाली टु रारा साइकल यात्रा । ‘अपांगता नागरिकहरुको समान सहभागिता, सामाजिक न्यायमा सुनिश्चितता’ भन्ने सन्देश बोकेर १२ औं दिनमा रारा किनारमा पुगेका थिए उनी । जेठको हपहप गर्मी, अनि उस्तै उकालो बाटो । साँघुरो राजमार्ग, त्यही माथि एउटै खुट्टाकोे भरमा रारा पुग्नु चानचुने उपलब्धी भने थिएन । निराकर कर्णाली किनारै किनार रहेको राजमार्गमा राष्ट्रिय झन्डा फर्फराउँदै साइकल कुदाउँदाको अनुभूव उनी यसरी पस्कन्छन्, ‘कैलालीको भव्य बिदाई, सुर्खेत नगरपालिकाको न्यानो स्वागत, चिटचिट पसिना निकाल्ने दैलेखको उकालो, कालीकोट सदरमुकाम मान्मा बजारको सुन्दरता, जुम्लाको मार्सी चामलको भात अनि राराको सुन्दरता । करिब दुई हप्ताको मेरो रारा यात्राको सम्झना यही हो ।’
पाँच दिन उनी रारा किनारमै बिताए । छिनछिनमै रुप बदल्ने रारा अनि आँखै अगाडि सैपाल हिमाल जति हेर्दा पनि धीत मरेन उनको । ¥याफ्टिङ बोटमा रारा फन्को मारे । नजिकै रहेका सुन्दर गाउँहरुमा पुगेर त्यहाँको वस्तुस्थिति अनि जनजीवन बुझ्ने अवसर मिल्यो उनलाई । रारा मुगुकै हिराको टुक्रा भएपनि वास्तवमै रारा पर्यटनले त्यहाँको स्थानीयलाई नै छुन सकेको छैन, उनले गुनासो पोख्दै भने, ‘रारा किनारमा मात्र एउटा रिसोर्ट छ, डाँफे रिसोर्ट । त्यो पनि कुन चाहिँ सांसदको अरे ! नजिकै गाउँका होमस्टेहरु पनि फस्टाउन सकेका छैनन् । राराको पर्यायवरण नखल्बलाउने गरी तालबाट अलि टाढै भएपनि स्थानीयहरुलाई होटल र लजहरु खोल्न राष्ट्रिय निकुञ्जले अनुमति दिनुपर्छ ।’
उनको सपना थियो, विश्व पाराओलम्पिकमा सहभागी हुने । अपांगता भएकाहरुको विश्व स्तरीय साइकल प्रतियोगितामा सहभागी हुने उनको सपना कमजोर आर्थिक अवस्थाले सधैंका लागि अन्त्य भयो । यसको लागि ट्रेनिङ खर्च नै लाखौं थियो, त्यो पनि भारतमा । उनले यसका लागि नेपाल साइकल संघ, अपांग संघ र विभिन्न सरकारी निकायहरुसँग सहयोगको याचना नगरेका हैनन्, तर झुटो आश्वासन बाँडेर उनलाई वर्षौ झुलाएँ । अब त उमेरले पनि साथ नदिने निश्चित भइसकेपछि उनले आश पनि मारिसकेका छन् । ‘अब म सहभागी हुन नपाए पनि मजस्तै अरु कोही यसमा सहभागी भएको हेर्न चाहन्छु । देब्रे खुट्टा नभएका भर्खरका युवक लामा भाइबाट धेरै आश थियो । तर उनले पनि आत्महत्या गरेर यो संसार छाडे ।’
पेशाले उनी सिलाइबुनाइ गर्छन् । यहीँ सिपले घरमा श्रीमती, छोराछोरी अनि आमासहितको बिहान–बेलुकाको छाक टर्छ । कोराना कहरले चुलो बल्ने मुहान नै बन्द भयो, उनले थपे, ‘सरकारले कोठा भाडा आधा छुट दिने भनेता पनि घरबेटीले मानेनन् । कमाइ सुक्को छैन । मासिक ६ हजारको दरले सटर भाडा तिर्न धौ धौ भएको छ । भाडा तिर्न नसके कोठा छाडेर जाउँ भन्छन् । कमाइ खाने भाडो लत्याएर म कहाँ जाऊ ?’ यता २ वर्षदेखि आमाको पित्त थैलीमा रहेको पत्थरीले अहिले आएर समस्या देखियो । सेती अञ्चल अस्पतालमा उपचार गराउन जाँदा धुलिखेल अस्पताल रिफर गरिदिए । आमाको उपचार खर्च पो कसरी जोह गर्ने, उनलाई अर्को पीडा थपिएको छ । कैयौंलाई प्रेरणा दिने उनै रसाइली अहिले आफैं समस्याको भुमरीमा फसेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->