बागलुङ, १२ साउन– साउनको सोमबार बागलुङको शिवालय मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । अघिल्ला बर्षको तुलनामा यो भीड भने सानो हो । साउनभरी शुद्व खाने, भगवान शिवको ब्रत बस्ने र सोमबार शिवालयमा पुगेर पूजा गर्ने चलन पछिल्लो समय बढीरहेको छ ।
कोरोना भाइरसको संक्रमणपछि भने धार्मिक स्थलहरुमा मानिसको चहलपहल बढ्न सकेको छैन । सोमबार विशेष पूजा हुने भएपनि अघिल्ला बर्षको तुलनामा भीड नभएको हो । बागलुङ नगरपालिका–४ को गौरीधाम शिवमन्दिर, वडा नं. ९ को इच्छापूर्णेश्वर महादेव मन्दिरसहितका शिवालयमा भक्तजनको भीड लागेको थियो ।
साथै, पर्वतको गुप्तेश्वर लगायतका शिवमन्दिर तथा म्याग्दीको गलेश्वरमा पनि सयौं भक्तजनहरु पुगेर पूजा गर्छन् । शिवको ब्रत बस्नाले शिवजस्तै श्रीमान पाउने अविवाहित महिलाहरुले इच्छा राख्छन् भने बिबाहितले पनि श्रीमानको दिर्घायुको कामना गर्छन् ।
नेपाली समाजमा श्रीमानको दिर्घायुसँग महिलाको सौभाग्य पनि जोडिन्छ । साउनमा हातमा महेन्दी लगाउने र शिवको व्रत बस्ने चलन देशैभरी बढीरहेको महिला अधिकारकर्मीले पनि बताए । त्यसलाई अधिकांसले राम्रो पक्षको रुपमा चित्रण गरेका छन् । केहीले स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् ।
‘सातामा एक दिन खाना नखानु, फलफूल, जुन खाएर बस्ने राम्रै हो, तर विभिन्न खालका रोगको औषधि खानुपर्नेले ब्रत भनेर भोकै बस्नु राम्रो होइन’ अधिकारकर्मी सिर्जना पन्तले भनिन्, ‘भववानप्रति आस्था राख्ने जो कोहीको लागि पनि पूजा, आराधान र व्रतले अर्थ भने राख्छ ।’ उनले महिनाको चार दिन व्रत बस्नु राम्रो भएपनि स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरिन् ।
मास्क नलगाई भीड
कोरोना भाइरसको प्रकोप बढीरहेकोले लकडाउन खुलेपनि २५ जनाभन्दा धेरै भेला नहुने तथा अनिवार्य मास्क लगाउने नियम सरकारले बनाएको छ । तर शिवालय मन्दिरमा सोमबार भेला भएका भक्तजनले अधिकांसले मास्क लगाएका थिएनन् । उनीहरुले सामाजिक दुरीको वास्ता समेत नगरेको भेटियो ।
पूजा गर्न लाइन बसेकाहरुले सामुहिक रुपमा बसाई, पूजा गराई र बोलीचाली गरिरहेका थिए । त्यस्तो काम गर्दा एकजनामा मात्रै संक्रमण भएको भएपनि अरुमा सजिलै सर्न सक्ने स्वास्थ्यकर्मीले बताए । ‘कसैलाई पनि संक्रमण नभएको देखिए केही फरक पर्दैन, तर एकजनामा भएमा सबैलाई सर्न सक्छ’ जनस्वास्थ्य निरिक्षक दिनेश जिसीले भने, ‘भीडभाड नगरेको राम्रो ।’ पछिल्लो समय सामुहिक रुपमा बसेका, खाना खाएका र सामुहिक काम गरेकाहरुमा संक्रमण बढीरहेकोले समूहमा नजुट्नपनि उनले सल्लाह दिए ।
अघिल्ला बर्षको तुलनामा भने भीड कम भएको गौरीधाम व्यवस्थापन समितिका अगुवा डिल्लीराज शर्माले बताए । बिहान, दिउँसो र बेलुकीसम्म आउनेहरुले गर्दा एकैपटक भीड नभएको उनको भनाई छ । ‘अघिल्ला बर्षहरुमा बिहानै धेरै मानिस ओइरिन्थे, अहिले स्वास्थ्यको ख्याल गरेर दिनभरी थोरै थोरै आएका छन्’ उनले भने, ‘हामीले समूहमा नबस्न आग्रह गर्दै टिका प्रसादको व्यवस्थापन पनि गरेका छैनौं ।’ आफ्नै सामाग्री ल्याएर पूजा गर्न चाहनेलाई नरोकिएको उनले बताए ।





