बागलुङ, १३ साउन– सडक निर्माणका क्रममा सिंचाई कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिंचाई अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिंचाई कुलो रहेकै ठाउँबाट कच्चि सडक बनाउँदा किसान मर्कामा परेका हुन् ।
बिनामारेको निरिङ्गे करिडोरदेखि वडा नं. ४ सर्कुवाको मौलाछसम्म नयाँ ट्रयाक खोल्ने क्रममा बैराबासे तल्लो सिर्से कुलोको अधिकांश भाग भत्काईदिएको छ । वडाले गत आर्थिक वर्षमा झण्डै ११ लाख रुपैयाँ खर्चेर कालीगण्डकी करिडोरको निरिङ्गेदेखि वडा नं. ४ को मौलाछ सम्मको कच्चि सडकको ट्रयाक खोलेको वडा अध्यक्ष गोपाल प्रसाद पौडेलले बताए ।
कुलो भत्किएका कारण बैराबासे, घडेरी, तल्लोसिर्सेलगायतका फाँटमा रहेको ३२ हेक्टर जमिनमा सिंचाई अभाव भएको स्थानीय नारायण पौडेलले बताए । ‘जनतन भल छोपेर रोपाईं गरियो अब पानी कसरी लगाउनु’ पौडेलले भने ‘एक÷दुई परिवारलाई बाटो पु¥याउँदा दर्जनौ परिवारको माड खोसियो ।’ उब्जाउ हुने खेतमा पु¥याईएको कुलो मासिँदा किसानहरु मर्कामा परेको पौडेलले बताए । ‘सडक अरु पनि थिए खेतमै आँखा लगाए’ पौडेल भन्छन् ‘नयाँ सडक चाहिएकै होईन, सिंचाईंको वैकल्पिक व्यवस्था पनि छैन् ।’
२०५८ सालमा ४९ लाख ९६ हजार रुपैयाँ खर्चेर उक्त कुलो निर्माण भएको थियो । जनसहभागितासहित निर्माण भएको कुलो सानो रकम खर्चेको सडकले क्षतविक्ष बनाएको उनको गुनासो थियो । वडा कार्यालयले भने धेरै पहिला निर्माण भएको कुला ठाउँ ठाउँमा भत्किएको र मर्मतमा सधैं समस्या हुने भएकाले सडक र कुलो एकै पटक बन्नेगरी काम गरेको जनाएको छ ।
‘कुलो पनि बनोस् र सडक पनि बनाउँ भन्ने मान्यताले बनाईएको हो’ वडा अध्यक्ष पौडेलले भने ‘विस्तृत योजना बनेको छ यो वर्षलाई समस्या भयो ।’ बिनामारेमा दुईसय मिटरको दुरीमा तीनवटा सडक बनेका छन् । खेतीयोग्य जमिन माँसेर धेरै सडक नबनाउन स्थानीयले आग्रह गर्दै आएका छन् । ‘पहिला सवै उपभोक्ताको सहमति लिएरै काम गरेको हो, अहिले समस्या भयो भन्छन्’ पौडेलले भने ‘बाटो र कुलो पनि एकै पटक व्यवस्थित कहाँ हुन्छ र ? हामी विस्तारै गर्दै जान्छौं ।’
सडकसँगै बनाईएको कच्चि नाली पहिरोका कारण ठाउँ ठाउँमा पुरिएकाले किसानलाई थप समस्या भएको छ । ‘वर्षाले पहिरो ल्यायो, सडक छेउको कच्चि नालीले काम गरेन्’ वडा सदस्य देवेन्द्र रेगामीले भने ‘सडक बनाउँदा समस्या आयो समाधान खोजिँदै छ ।’ रोपाई सकेका किसानले हिउँदे खेतीको लागि समेत सिंचाइको समस्या हुने बताएका छन् ।





