सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बोक्से खाल्डोमा विपदकै सदस्य दिनभर अलपत्र

बोक्से खाल्डोमा विपदकै सदस्य दिनभर अलपत्र

तर ठेकेदारलाई ल्याएर काममा लगाउने भन्दै आश्वासन दिएका थापा भने बैठकमा सहभागि थिएनन्


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७७, बुधबार

बागलुङ, १४ साउन– सोमबार दिउँसो १२ बजे जिल्ला दैवि प्रकोप उद्दार समितिको बैठक डाकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बस्ने बैठकमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल उपस्थित हुन सकेनन् ।
बैठकमा अन्य दुई पालिकाका अध्यक्ष पनि थिएनन् । बैठक भेट्नका लागि आएका पौडेल भने दिनभरी बोक्से खाल्डोमा अलपत्र परे । निर्धारित समयमै आइरहेका पौडेलको गाडी बोक्सेमा फसियो, निकाल्न खोग्दा–खोज्दै लामो समय लाग्यो । हिँडेरै आउन खोज्दा वर्षातले सकेनन् । बेलुकी ७ बजे मात्रै उनको गाडी हिलोबाट निस्क्यो र बागलुङ बजारको एक होटलमा आएर बस्न बाध्य भए ।
यो घटना जस्तै हरेक दिन राजमार्गको दैनिकीजसो भएको छ । पश्चिम बागलुङबासीले सदरमुकाम आइपुग्नै लाग्दा सधैं बोक्सेमा सास्ती खेप्छन् । सातादिनदेखि खसेको पहिरो, हिलाम्मे सडक र अविरल वर्षातले आम नागरिकलाई झनै सास्ती दिएको छ ।
दैविप्रकोप उद्दार समितिका सदस्यसमेत रहेका पौडेल आँफै विपत्तीमा परे । उनको पिडा समितिको बैठकमा छलफलको राम्रो विषय बन्न सक्थ्यो, तर भोग्नेनै बैठकमा नआएपछि एजेण्डा बन्न सकेन । उक्त समितिको बैठकमा मध्यपहाडी लोकमार्ग पोखरा बागलुङ खण्ड हेर्ने आयोजना प्रमुख आशिष थापा भने सहभागि थिएनन् । उनलाई आमन्त्रित गरेपनि अनुपस्थित भएकै बैठकले राजमार्ग निरन्तर संचालनमा ल्याउने निर्णय मात्रै गरेको छ ।
बैठकले मुख्य सडक भएकोले मध्यपहाडी लोकमार्ग निरन्तर चल्ने बनाउने निर्णय गरेको छ । निर्णयमा रुकुमसम्म जाने मुख्य नाका, कोभिड १९ को कारण संक्रमितहरु नियमित ओसारपसार गर्नु पर्ने बाध्यता, असक्त, गर्भवती महिलालाई अस्पताल आउने बाटोसमेत भएकोले नियमित चल्ने बनाउनु परेको उल्लेख छ । साताअघि एक महिलाले समयमा अस्पताल आउन नसक्दा बाटैमा छोरा जन्माएकी थिइन् । खहरेस्थित सहरी क्लिनिकका अहेवको सहयोगमा ती महिलाले बाटैमा सुत्केरी बन्न बाध्य भएकी थिइन् ।
यो सडक बनाउने मुख्य जिम्मा आयोजनाको हो । आयोजनाले ठेक्का दिएका ठेकेदारको अत्तोपत्तो छैन । तर ठेकेदारलाई ल्याएर काममा लगाउने भन्दै आश्वासन दिएका थापा भने बैठकमा सहभागि थिएनन् । उनले फोनमा आश्वासन मात्र दिने गरेको समितिका सदस्यहरुले बताए । पहिरोको कारण बोक्सेको बाटो भएर पश्चिम बागलुङका लागि कुनैपनि ठूला सवारी साधन जान सकेका छैनन् । बोक्से, खहरे, अक्षेतेमा सवारी साधनले जोखिम मोलेर यात्रा गर्नुपर्छ ।
सडक खुलाउने विषयमा आफ्नो सिमा क्षेत्रमा भएपनि बागलुङ नगरले चासो राखेको छैन । ‘सामान्य गिटी बिच्छाए पनि गाडी चल्न सक्छन्, तर नगरपालिकाले वास्तै गर्दैन’ स्थानीयले भने, ‘सधै जोखिम मोलेको दुःखबारे नगरका पदाधिकारीकाले सहसुस गरिदिएनन् ।’
नगरपालिकाले भने वैकल्पिक बाटो खुलाउने निर्णय गरेर मर्मतको काम थालेको छ । बोक्सेको विकल्पमा खोलिने सडकमा जिप मात्रै चल्न सक्छन् । बस, ट्रक र ट्रयाक्टर चलाउन भने मिल्दैन । पश्चिम बागलुङमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री लैजान भने ठूला सवारी साधन चल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->