बागलुङ, १४ साउन– नेपाल तरुण दल क्षेत्र नं. १ बागलुङका क्षेत्रीय सभापति दलबहादुर श्रीषले आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितका लागि राहत तथा खाद्यान्न सहयोग गरेका छन् । श्रीषले जैमिनी वडा नं. ९ पैयुँथन्थापका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेका हुन् ।
श्रीषले गत असार ३० गते गएको पहिरोले विस्थापित पैयुँथन्थापका टिकाराम शर्मा आचार्यको परिवारसहित ११ घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । विपद्को समयमा सबै मिली सामना गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो जन्मदिनको खर्च कटाएर पहिरो पीडितको लागि खाद्यान्न सहयोग गरेको श्रीषले बताए ।
राहत हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री हरिहर शर्माले आफ्नो जन्मदिनको खुसी पहिरोबाट दुःख पाएका र विस्थापित परिवारसँग बाँड्न आएकोमा तरुण दलका अध्यक्षप्रति धन्यबाद प्रकट गरेका थिए । कार्यक्रममा नेपाल तरुण दल जैमिनी नगरपालिकाका अध्यक्ष रोहित थापालगायतले बोलेका थिए ।
श्रीषले पहिरो पीडित परिवारलाई तत्काल व्यवस्थापनका निम्ती २५ केजी चामल २ केजी दाल, १ केजी नुनु, २ लिटर तेललगायतका दैनिक उपभोग्य वस्तु प्रदान गरेका थिए । नेपाली काँग्रेस पैयुँथन्थापका सभापति नरजंग रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन काँग्रेस जैमिनीका सचिव पुरन श्रीषले गरेका थिए ।





