बागलुङ, १५ साउन– निरन्तरको वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध भएका बागलुङका सडक सुचारु भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षेते खण्ड र कालीगण्डकी करिडोरको मालढुंगा–बलेवाखण्ड सुचारु भएका हुन् । दुवै सडकमा खसेको पहिरो तत्काल पन्छाउन सम्भव नभएपछि बागलुङ नगरपालिकाले वैकल्पिक मार्गमार्फत सडक सुचारु गरेको नगरप्रमुख जनकाराज पौडेलले बताए ।
मध्यपहाडी लोकमार्गको बोक्से खाल्डोमा पहिरो खसेको छभने कालीगण्डकी करिडोरमा माल्ढुंगाभन्दा केही पर ठुलो पहिरो खसेको छ । दुवै सडकमा खसेको पहिरो तत्काल पन्छाउँदा जोखिम बढी हुने आसपासका सर्वसाधारणसमेत प्रभावित हुने भएकाले बैकल्पिक मार्ग खुलाईएको पौडेलले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा बागलुङ बजारको देउरालीचोकदेखि खहरेहुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडक सञ्चालनमा ल्याईएको छभने करिडोरको कालीगण्डकी किनारामा रहेको अस्थायी सडकलाई सञ्चालनमा ल्याईएको छ ।
साना सवारी आवतजावतका लागि वैकल्पिक मार्गले सहज हुने भएपनि ठुला सवारी साधनको आवतजावतभने अझै केहीदिन रोकिने पौडेलले बताए । विहिबार दिनभर स्काभेटरको प्रयोग गरेर वैकल्पिक सडक निर्माण गरिएको थियो । बागलुङका स्थानीय तहका मुकाम तथा वडा मुकामहरु जोड्ने स–साना सडकहरु भने ठाउँ ठाउँमा अवरुद्ध छन् ।





