बागलुङ, १६ साउन– विहिबार बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने बागलुङको लोकतान्त्रिक चोकमा पुगेर उभिए । सँगै प्रहरी उपरिक्षक शारदाप्रसाद चौधरीसहित राष्ट्रिय अनुसन्धान र अन्य सुरक्षा निकायका अगुवाहरु पनि थिए । लोकतान्त्रिक चोकमा बसेर उनीहरुले पैदलयात्री र सवारी चालकहरुले मास्क लगाए नलगाएको अनुगमन गरे ।
उनीहरुले अनुगमन मात्रै गरेनन्, पैदल यात्रीलाई रोकेर अनिवार्य मास्क लगाउन सुझाव पनि दिए । नलगाई हिडेकालाई मास्क पनि वितरण गरे । सर्वसाधारणदेखि सरकारी कर्मचारी, ठेकेदार समेतले मास्क नलगाएको भेटियो । उनीहरुलाई पहिलो पटक मास्क दिइएको, अब नलगाएमा कारवाही गर्ने बताएपछि सबैले लगाउने प्रतिवद्धता जनाएका छन् ।
मोटरसाइकलमा हिँडेका, गाडी चढेका र पैदलयात्री समेतले प्रहरी र प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी कर्मचारी देखेपछि खल्तीबाट झिकेर पनि लगाए । केही महिलाले हतार हतार पच्छ्यौराले मुख छोपे । कतिपयले नजिकै निस्केको भन्दै मास्क नलगाएको कमजोरी लुकाउन खोजे ।
नेपालमा लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण समुदायसम्म पुग्न लागेको भन्दै गृहमन्त्रालयले अनिवार्य मास्क लगाउन निर्देशन जारी गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा पनि अनिवार्य मास्क लगाउने विषय एजेण्डाको रुपमा आयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बागलुङले विज्ञप्तीसमेत जारी गरेर मास्क लगाउन भनेको छ । मास्क नलगाएमा कारवाही गर्ने भएपछि अधिकांशले लगाउन पनि थालेका छन् । तर सडकमा मास्क नलगाई हिडेकाहरु अधिकांस अटेर गर्नेहरु भेटिए पनि सचेतनामूलक सन्देश पनि दिन थालिएको चौधरीले बताए । प्रहरीले चोक चोकमा पुगेर संचार सामग्री प्रसारण गरिरहेको छ ।
विहिबार जन्मदिन परेकी लायन्स क्लबकी अगुवा पार्वती अधिकारी र धौलागिरी संचार क्लबले ४ सय थान मास्क वितरण गरेको छ । प्रजिअ न्यौपानेले मास्क बितरणको थालनी गर्दै आफू मात्रै सुरक्षित भएर नहुने भन्दै समाजको सुरक्षाका लागि अनिवार्य मास्क लगाउन आग्रह गरे । ‘मास्क लगाएर हिड्ने मात्रै गर्दा पनि धेरै जोखिमबाट बच्न सकिन्छ’ उनले भने, ‘सचेत नागरिकले टोलछिमेकमा पनि मास्क लगाउन सम्झाउनु पर्छ ।’
कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले आम नागरिकको स्वास्थ्य सुरक्षाप्रति सबै सचेत बन्नुपर्ने धारणा राखे । क्वारेन्टाइन व्यवस्थापनमा जति लगानी गरेपनि आम नागरिकले आफ्नो सुरक्षा संवेदनशिलता बुझेनन् भने समाजमा संक्रमण बढ्ने उनको धारणा थियो ।
संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले हरेक मानिसले मास्क लगाउनुपर्छ भन्ने सन्देश दिनका लागि २ सय मास्क किनेर थालनी गरेको बताए । त्यसका लागि अधिकारीले थप २ सय थान दिएकी थिइन् । विहिबार लोकतान्त्रिक चोकमा ४ सय थान मास्क वितरण भएको हो । यसरी वितरण गर्दा जनतामा सचेतना फैलने र नलगाएमा संकोच मान्ने अवस्था आउनुपर्ने समेत उनले बताए । प्रहरीका लागि मास्क लगाइदिने भन्दा आफ्नो सुरक्षाका लागि लगाएको भन्ने धारणा विकास गर्न पनि उनले आग्रह गरे । प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





