बागलुङ, १६ साउन – धौलागिरी अस्पताल बागलुङमा शुक्रबारदेखि लिफ्ट सेवा सञ्चालनमा आएको छ । अस्पतालको वि ब्लकमा करिव आधा करोडको लगानीमा निर्माण गरिएको लिफ्टको गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले शुक्रवार रिवन काटेर उद्घाटन गरे । सो अवसरमा वोल्दै सांसद सापकोटाले इच्छा शक्ति भएमा हरेक क्षेत्रमा राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण धौलागिरी अस्पताल भएको वताए । पछिल्ला दिनहरुमा धौलागिरी अस्पतालमा सेवा प्रवाह र भौतिक संरचना निर्माणमा उल्लेखनीय सुधार आएको छ, सांसद सापकोटाले भने, ‘रिफर सेन्टर जस्तो बनेको अस्पतालको परिचय बदल्ने काम भइरहेको छ, लिफ्ट सेवाले फरक क्षमता भएका, शल्यक्रिया गर्ने विरामीहरु, गर्भवती र वृद्धाहरु प्रत्यक्ष रुपमा लाभन्वित हुनेछन । लिफ्ट निर्माणका लागि सांसद सापकोटाको पहलमा गण्डकी प्रदेश सरकारले ५० लाख रकम बिनियोजन गरेको थियो ।
संघियताको प्रत्यक्ष रुपमा अनुभुती हुने गरी धौलागिरी अस्पतालले फड्को मारेको वताउदै सापकोटाले गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल घोषणा गर्न केही विधि र प्रक्रियाले रोके पनि गण्डकी प्रदेशको दोस्रो अस्पताल भएकाले सवै श्रोत, साधन र जनशक्तिको अभाव हुन नदिन आफु लागिरहने प्रतिवद्धता जनाए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले आफुहरु गरिव र पहुँचबाट टाढा भएका जनताको प्रिय अस्पताल बनाउन लागिपरेपनि समबन्धित तहबाट प्रयाप्त मात्रमा सहयोग नपाएको गुनासो गरे । उनले फरक क्षमता भएका, शिकिस्त विरामी र जेष्ठ नागरिकलाई लक्षित गरेर लिफ्ट निर्माण गरेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले अस्पताललाई सेवाग्राहीमैत्री बनाउन सेवामा गुणस्तर र भौतिक पूर्वाधारमा विशेष जोड दिइएको वताए । आफुहरु अस्पताललाई सेवा प्रवाहमा उदाहरणीय बनाउन लागिपरेको वताउदै डा.पोखरेलले यसका लागि सवै क्षेत्रको सहयोगको अपेक्षा गरे ।
अस्पताल ब्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले विरामीका लागि विरामीमैत्री अस्पताल बनाउने गरी सेवा प्रवाहमा फरक नतिजा दिनका लागि समितिले काम गरिरहेको वताए । एकपटकमा लिफ्टमा १०८८ किलोग्राम वा १६ जनासम्म आवतजावत गर्न सकिने क्षमता छ । लिफ्ट सयपत्री शोलुसन प्रालिले ४१ लाख २४ हजार ५ सय रुपैयाँको लागतमा निर्माण गरेको हो ।





