बागलुङ, १७ साउन– निरन्तरको वर्षातले बाढी र पहिरो समस्या बढिरहेको छ । पहिरोले धेरै घरबस्ती बगाएको छ । कतिपय मानिसको मृत्यु पनि भएको छ । यसरी दिनदिनै भएका घटनामा अधिकांश दलित बस्तीमा क्षति पुगेको छ । मृतक पनि दलित समुदायका बढी छन् । क्षति पुग्नेमा पनि अपांग, दलित र बिपन्न परिवारकै छन् ।
एकसातामा बागलुङमा भएका घटना हेर्दा त्यस्तै देखिन्छ । तमानखोलामा पहिरोमा पुरिएर ज्यान गुमाएका दुई बालबालिका, निसीखोलाका ५ वर्षे बालक दलित समुदायकै हुन् । त्यस्तै निरयघाटमा खसेको पहिरोमा पुरिएर मृत भेटिएका मालिकाका युवा पनि दलित समुदायका हुन् । पहिरोले तमानखोलामा दलित समुदायका दर्जन घर जोखिममा छन् ।
उनीहरुको घर पक्की थिएन । भीरालो जमिनमा बनेकोले सुरक्षित बन्न सकेनन् । ग्रामीण सडकहरु उनीहरुको बस्ती छेउबाट गएपनि नाली तर्काउने र सुरक्षित बनाउनेतर्फ सडक निर्माण गर्ने उपभोक्ता समितिले चासो राखेनन् । घटनामा दलित परिवारका बालबालिकाकै ज्यान गयो । ‘उनीहरुको आर्थिक अबस्था कमजोर छ, तत्काल दुई छाक खान र बस्ने व्यवस्थापनका लागि तयारी गरिएको छ’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘दिगो बसाइका लागि जग्गा छनौट गर्ने र दाताहरुको खोजी गरिने छ ।’ तमानखोलाको अधिकांश भूगोल भिरालो र पहिरोको जोखिममा छन् ।
मृतक मालिकाका युवाको घर कमजोर छ । वृद्ध आमा मात्रै घरमा बस्छिन् । दुइछाक खान धौधौ भएपछि रातदिन नभनी उनले मजदुरी गर्दै आएका थिए । एक छोरा, एक छोरी, श्रीमती र आमा किसानकै पाखुरीमा बा“चेका थिए । ‘एउटैको भरमा बाँचेकालाई दैनिकी चलाउन समस्या छ’ वडा अध्यक्ष शिवप्रसाद सापकोटाले भने, ‘आउने र मिल्ने सम्मको राहत जुटाउने प्रयासमा छौं ।’
आर्थिक अवस्था कमजोर भएकोले पाखोमा कच्ची घर बनाएर बस्नेहरुलाई नै विपत्ति निम्तने गरेको उनले बताए । वर्षात्मा हुने बाढी पहिरो र हिउ“दमा हुने आगलागीले दलितकै कच्ची घर सखाप भैरहेको उनले टिप्पणी गरे । गत वर्ष ढोरपाटनमा लागेको आगोले दलितकै ५० घर जलेका थिए ।
हरेक पालिकाले खरको छाना विस्थापित गर्ने योजना ल्याएका छन् । तर छाना फेरेपनि कमजोर जमिन र भिरालोबाट सुरक्षित स्थानमा सार्न नसक्दा यस्ता घटना भैरहेका छन् । तमानखोलाले केही समयअघि एकीकृत बस्तीको योजना ल्याएको थियो । उक्त योजनाका लागि बजेट संघिय सरकारबाटै विनियोजन हुनुपथ्र्यो । तर जोहो नभएपछि योजना कागजमा मात्रै सिमित भएको छ ।
तमानखोलाका अधिकांश बस्ती जोखिममा र छरिएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा राख्दा पानी, बिजुलीको खर्च तथा सहज सडकले जोडिन सकिने बुढाले बताए । अन्य पालिकाले पनि पक्की जग र पहिरो नियन्त्रणतर्फ चासो दिनुको साटो हिउँदमा जथाभावी डोजर लगाएर सडक खन्ने होड चलाएका छन् । उक्त होडले वर्षात्मा दुर्घटना निम्त्याएको छ ।





