बागलुङ, १८ साउन– कोरोना प्रभावित क्षेत्रबाट आउनेको संख्या घटेसँगै बागलुङका क्वारेन्टाईनहरु खाली हुन थालेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेहरुको संख्या पछिल्लो दुईसाता यता ह्वात्तै घटेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।
एकैदिन तीन सय जनासम्म भित्रिएको तथ्यांक रहेको बागलुङमा पछिल्लो दुईसाता यता दैनिक चार÷पाँच जना मात्रै जिल्ला भित्रिने गरेका छन् । क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षण भैरहेको र बाहिरबाट आउनेहरु घटेका कारण क्वारेन्टाइन खाली हुँदै गएको कमाण्ड पोष्टका प्रबक्ता सुरज गुरौले बताए ।
पछिल्लो तथ्यांक अनुसार, जिल्लाभर रहेका क्वारेन्टाईनमा २ सय २० जना मात्रै छन् । सक्रिय संक्रमितको संख्या जिल्लाभर ३३ जनामात्रै रहेको गुरौले बताए । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मि हुन् । २ सय ४५ जना संक्रमितमध्ये २ सय ११ जना निको भएर घर फर्किएका छन् ।
क्वारेन्टाईनमा रहेकामध्ये एक सय जनाको नमुना संकलन भैसकेको छ । ‘एक सय जनाको रिपोर्ट आउन बाँकी छ, सायद उहाँहरुको पनि जाँच भैसकेको हुनुपर्छ, इन्ट्रीमा समय लागेको होला’ गुरौले भने ‘थपिनेको संख्या कम रहेकाले जाँच हुनेको संख्या पनि घट्दै गएको छ ।’ उनीहरु सबैको रिपोर्ट आउँदा क्वारेन्टाईनमा बस्नेको संख्या थप घटेर जाने गुरौले बताए ।
जिल्लामा २ हजार १ सय ८६ बेड क्षमता रहेका क्वारेन्टाईन निर्माण भएका छन् । उक्त क्वारेन्टाईनहरुमा बसेर हालसम्म ३ हजार २ सय ६० जना घर फर्किसकेका छन् । ‘पहिले गाउँपालिकाका विद्यालयमा राख्दासमेत धान्न गाह्रो भयो’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने ‘अहिले एउटा बालविकास र एउटा विद्यालयमा राखिएको छ, बाहिरबाट आउनको संख्या घट्यो ।’ क्वारेन्टाईनमा बस्नेहरुको संख्या घटेसँगै स्थानीय तहले राहतको महशुस गर्न थालेका छन् ।
‘उद्धारदेखि व्यवस्थापनमा केही समय निकै कठिन थियो’ बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने ‘संख्या घट्दा व्यवस्थापन पनि सहज भएको छ ।’
तेस्रो मुलुकबाट आउनेको सरकारले उद्धार गरिरहेको भएपनि बागलुङमा ठुलो संख्या नरहेको कमाण्ड पोष्टले जनाएको छ । सक्रिय संक्रमितहरुको उपचारका लागि बनाईएका १ सय ९१ आईसोलेसन बेडमध्ये अहिले जिल्लाभर ३३ बेडमा मात्रै बिरामी छन् । सबैभन्दा कम धौलागिरी अस्पतालमा २ जना र सबैभन्दा धेरै धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा ११ जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
नेपाल सरकारको प्रोटोकलमा परेका ३ हजार ८ सय ४३ जनाको पिसिआर परीक्षण भएको छभने आरडिटी परीक्षण गर्नेको संख्या २ हजार ५२ रहेको छ । पहिलो दुईवटा संक्रमित महिलानै देखिएको बागलुङमा जम्मा संक्रमितमध्ये २५ जना महिला हु्नभने बाँकी सबै संक्रमित पुरुष भएको तथ्यांक छ ।





