बागलुङ, १९ साउन– कोरोना भाइरसको संक्रमणको समस्या नभएको भए ढोरपाटनमा अहिले सयौं मानिस भेला भैसक्थे । सयौं भेडाको बली दिनेहरुको लाइन देखिन्थ्यो । ढोरपाटनका होटलदेखि सर्वसाधारण नागरिकको घरमा पाहुनाको घुँईचो हुन्थ्यो । कोरोना संक्रमणको जोखिम बढीरहेकोले यो बर्ष भने मेला नहुने भयो ।
ढोरबाराही पूजा व्यवस्थापन समितिले केही दिनअघिनै सूचना दिएर मेला नहुने जानकारी गराएपछि अहिले भक्तजन आएका छैनन् । नजिकै घर भएका, तत्काल आएर फर्कने र भीड नगर्ने गरी पूजामा सहभागि हुने केही मानिसबाहेक ढोरबाराहीमा कोही नआएको स्थानीय बासिन्दाले बताएका छन् ।
यो वर्ष नगरपालिकाले पनि मेला महोत्सवमा भेला नहुन सूचित गरेको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ का अध्यक्ष हरिबहादुर घर्तीले स्वास्थ्यको सुरक्षाका लागि मेला आयोजना नगरिएको जानकारी दिए । ढोरपाटनको ढोरबाराही मन्दिर र उत्तरगंगामा हरेक वर्ष जनैपूर्णिमामा मेला लाथ्यो । मेलाका लागि स्थानीय युवा क्लव, समाजसेवी, नेपाली सेनाको व्यारेकबाट स्वयंसेवी काम हुने गरेको थियो । खोलामा अस्थायी पुल हालेर आउजाउमा सहज गराउने काम पनि गरिन्थ्यो । यो बर्ष भने भीड लाग्न नदिन सहजीकरणको काम पनि रोकिएको छ ।
जनैपूर्णिमाको केही दिनअघिदेखि नै यहा“ मेला भर्न सयौं आउने गर्थे । आइतबारसम्म यहा“ कोही नआएको स्थानीयले बताए । जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा बागलुङ, म्याग्दी र रुकुमसहित गुल्मी, अर्घाखाँची, प्युठानलगायतका अन्य जिल्लाबाट हजारौं मानिस ढोरपाटन पुग्ने गर्थे । कोरोना संक्रमणको जोखिम रहेको भन्दै ढोरपाटन नगरपालिका र स्थानीय आयोजकहरुले पनि मेला नगर्ने जनाएपछि पूर्णिमाको दिन औपचारिक पूजा मात्रै गरिने भएको उनीहरुले जानकारी दिए ।
अघिल्लो वर्ष नगरपालिकाले मन्दिर व्यवस्थापन र घेराबारका लागि मात्रै १ करोड लगानी गरेको थियो । यहाँ भेडाको साँढसहित सयौं बली दिने चलन पनि छ । ढोरबाराहीको पूजा गरेर भोग चढाएपछि सुरक्षा र सहकाल आउने यहाँका मानिसमा विश्वास छ । बराह अवतारको स्वरुप भएकोले दर्शन गर्दा साक्षत भगवानको दर्शन पाइनेसमेत स्थानीयमा विश्वास छ ।
यहाँ पूजा गरेर गाउने, नाच्ने र आफन्त भेट्ने अवसरको रुपमा जनैपूर्णिमालाई लिने गरिन्छ । नेपाल सरकार र प्रदेश सरकारले नदिएको वर्ष पनि नगरपालिकाले मेलाका लागि बिदा दिएको थियो । यहाँका २२ धाराबाट झरेको पानी उत्तर बगेकोले उत्तरगंगा भनिन्छ । यो उत्तरगंगा ढोरपाटनबाट बगेर रुकुमहुँदै कर्णालीमा पुगेको छ । उत्तरगंगा जलविद्युत आयोजना समेत यही पानीबाट निकाल्ने तयारी छ ।





