काठमाडौं, १९ साउन – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्का विच कम्तीमा पनि एक मिटरको दुरी कायम गर्न अपिल गरेका छन् ।
पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण कम गर्न एक अर्काबीच दुरी कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि भ्याण्डेलरले दुरी कायम गर्न अपिल गरेका हुन् ।
खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपिल गरेका हुन । उनले कम्तीमा एक मिटरको दुरी कायम गरेर क्रियाकलाप गर्न आग्रह गरेका छन् । त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले सङ्क्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपिल गरेका छन् ।
उनले भने, ‘कोभिड एक प्रकारको रोग हो, यसले हामी सबैलाई असर गरेको छ । कोभिडको भाइरस हामीले खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको छ । यो रोग सङ्क्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन् । हामीले एक अर्काबीच दुरी कायम गरेर यो रोगको सङ्क्रमणलाई धेरै हदसम्म रोक्न सक्छौँ । कम्तीमा एक मिटरको दुरी कायम गर्न सक्यौँ भने मात्र पनि जोगिन सकिन्छ । हामी आफै सङ्क्रमित भए अरुलाई पनि सङ्क्रमण गराउन सक्छौँ । तर हामीले व्यवहारमा एक अर्काबीच दुरी कायम गर्न सके सङ्क्रमण हुने झिनो सम्भावना मात्र हुन्छ । त्यसैले एक अर्काबीच दुरी बनाउनु धेरै महत्त्वपूर्ण छ ।’
उनले थपेका छन्, ‘हामीले दूरी कायम गर्न सकेमा सङ्क्रमण रोक्न, लकडाउन हुन नदिन, सङ्क्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ । हाम्रो भौतिक दूरी सङ्क्रमण रोक्ने एक अचुक कडी हो । यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि सङ्क्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दुरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई विनम्र अनुरोध छ दुरी बढाऔँ सङ्क्रमितबाट जोगिऔँ ।’





