बागलुङ, २० साउन– गत जेठ पहिलो साता बागलुङको गलकोटबाट पर्सा गएका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको सम्पर्कमा आएका १ सय ९ जनाको कोरोना जाँच गरियो । गलकोट नगरपालिकाका प्रमुख, उप–प्रमुख र केही वडाध्यक्ष तथा वडा सदस्यले समेत त्यहिँ मौकामा आँफुहरुको पनि कोरोना जाँच गराए । रिपोर्ट सबैको नेगेटिभ आयो ।
गलकोटमै काम गरेर पर्सा पुगेका १४ जनामा संक्रमण पुष्टि हुँदा जनप्रतिनिधिले समेत सम्पर्कमा आएको बताएपछि गलकोटमा निकै त्रास फैलियो । एक त जनप्रतिनिधि धेरैको सम्पर्कमा थिए अर्को कुरा जाँचका लागि पठाएको रिपोर्ट आउन भैरहेको ढिलाईका कारण गलकोटमा एक साता सन्त्रास फैलियो । जनप्रतिनिधि जोडिएकाले गलकोटका स्थानीय तर्सिएका थिए । कारण थियो उनीहरु धेरैको सम्पर्कमा थिए ।
आर्थिक वर्ष समाप्तीको काम सकेर निमित्त प्रमुख प्रशासकीय अधिकृत बिदामा जानु परेकाले बागलुङ नगरपालिकाले एक जना जनप्रतिनिधिसँगै २८ जना कर्मचारीको कोरोना जाँच गरायो । असार मसान्तका बेला हुने काममा धेरै सर्वसाधारणसँग सम्पर्कमा आएकाले कर्मचारीको कोरोना परीक्षण गराएको नगरले जारी गरेको विज्ञप्तीमा नै उल्लेख छ ।
कोरोना जाँचका लागि पठाईएका २८ जनामध्ये एक जनाको रिपोर्ट शंकास्पद आयो । दोस्रो पटक गरिएको परीक्षणमा उनी कोरोनामुक्त नै रहेको रिपोर्ट आएको भएपनि उनको सम्पर्कमा आएका धेरै नै थिए । जसका कारण झण्डै एकसाता बागलुङ नगरका सर्वसाधारण त्रासमा बाँचे । ‘शंकास्पद रिपोर्ट आएपछि दोस्रो रिपोर्ट आउने बेलासम्म हल्लाकै कारण घर नगई दुई दिन बाहिर बसेँ’ नगरकै एक कर्मचारीले भने ‘भएको केही थिएन् तर हल्लाले त्रास बढायो ।’
बागलुङ नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको जाँचका क्रममा कोरोनाको शंकास्पद रिपोर्ट आउँदा जिल्लाको जैमिनी नगरपालिका तर्सियो । असार मसान्तको काम सकाएको केही दिनमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी २८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य शाखाका निमित्त प्रमुख तिर्थराज पौडेल बताउँछन् ।
जैमिनीमा भएको परीक्षणमा स्वास्थ्य शाखामा नै काम गर्ने उच्च पदस्थ एक जनामा संक्रमण पुष्टि भयो । तर त्यो धेरै दिन भने टिकेन् । स्वास्थ्य शाखा, नगरका बैठक तथा कार्यशाला, निजी क्लिनिक र स्वास्थय संस्थामा समेत बारम्बार धेरै जनाको सम्पर्कमा आएका उनमा कोरोना पुष्टि भएपछि चार दिन जैमिनीको मुकाम सेरा बजार सुतेन् ।
‘खाना पनि निर्धक्क खाएका थिएनौं’ संक्रमित स्वास्थ्यकर्मी बसोबास गर्ने ठाउँको छेवैका एक जना व्यवसायीले भने ‘उनको सम्पर्कमा आएकाको रिपोर्ट के आउँछ भन्ने छ ।’ उनको सम्पर्कमा आएका ५४ जनाको स्वाव संकलन भयो । त्यसयता रिपोर्ट नआउने बेलासम्म जैमिनीको त्रास सामाजिक सञ्जालदेखि चोक चौतारा र चिया पसलमा छरपस्टै थियो । ५४ जनाकै रिपोर्ट नेगेटिभ आउँदा संक्रमित भनिएका स्वास्थ्यकर्मीको समेत तीन दिनकै दिन गरिएको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आयो । जैमिनीमा फैलिएको त्रास केही कम भएको छ ।
‘पिसिआर पनि कहिलेकाहीँ फल्ट हुन सक्छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भन्छन्– ‘उहाँको आत्तिनु पर्ने अवस्था थिएन् ।’ गुरौले भनेकै कुरा पहिले जानकारी गराएको भए जैमिनीको सन्त्रास कम हुन सक्थ्यो । तर उनलाई हतार–हतार अस्पतालको आईसोलेसन पु¥याउँदा उनको छेउछाउका सबैको होस उडेकै थियो ।
सोमबार जिल्लाको बरेङ गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको कोरोना परिक्षणको लागि स्वाव संकलन गरेको छ । असार मसान्तको समयमा धेरै सर्वसाधारणसँग सम्पर्कमा आएको बहनामा यहाँका जनप्रतिनिधि र कर्मचारीले कोरोनाको जाँच गराएका छन् । तर, त्यहिँ समयमा उनीहरुको सम्पर्कमा आउने सर्वसाधारणको भने कसैको पनि जाँच गर्ने विधि छैन् ।
प्रोटोकलअनुसार मात्रै जाँच गर्ने भनेको स्वास्थ्य कार्यालय बागलुङले पनि प्रोटोकल बाहिरका नागरिकको संकलन भएको स्वाव पनि निर्वाध प्रयोशाला पठाएको छ । पछिल्लो पटक बागलुङमा कोरोना संक्रमितको ग्राफ ओरालो लाग्दै गएको र विदेशबाट आउनको संख्या कम भएको भएपनि जनप्रतिनिधि तथा कर्मचारीको जाँचमा आउने शंकास्पद रिपोर्टका कारण समुदायमा त्रास कायम रहेको सरोकारवाला बताउँछन् ।





