शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना कहर : भारतबाट सुटुक्क आउनेबाट जोखिम

कोरोना कहर : भारतबाट सुटुक्क आउनेबाट जोखिम

खुलेआम आउने, खुलेआम बस्ने प्रवृत्तिले लक्षण नदेखिइकनै धेरेमा कोरोना संक्रमण देखिन सक्ने चिन्ता बढिरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७७, मंगलबार
फाईल तस्विर

फाईल तस्विर

बागलुङ, २० साउन– साताअघि भारतबाट बागलुङ बजारमा तीन जना सुटुक्क आए । उनीहरु आएको तेस्रो दिन मात्र बजारबासीलाई थाहा भयो । उनीहरु सामान किन्न गएपछि पसलका मानिसले खबर गरेपछि बागलुङ नगरपालिकाले पिसिआर गरायो । उनीहरुको रिपोर्ट भने आइसकेको छैन ।
भारतबाट लामो दुरी यात्रा गरेको कारण कोरोना संक्रमण भएको हुन सक्ने भन्दै स्थानीय त्रसिद थिए । उनीहरुले पहिला पोखराबाट आएको भनेर ढाँटे, त्यसपछि केरकार बढीनै भएपछि मात्रै भारतबाट आएको जनाए ।
लकडाउन खुकुलो भएपछि यसरी भारतबाट र लामो दुरी यात्रा गरेर बिना परीक्षण समुदायमा जानेहरु बढ्न थालेका छन् । कम्तिमा उनीहरुले आरडिटी र स्थानीय तहको समन्वयमा पिसिआर गर्न आवस्यक छ भन्छन्, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल ।
खुलेआम आउने, खुलेआम बस्ने प्रवृत्तिले लक्षण नदेखिइकनै धेरेमा कोरोना संक्रमण देखिन सक्ने चिन्ता बढिरहेको छ । भारतबाट त्यस्तो सुटुक्क कति आएका छन् भन्ने सुरक्षा निकायमा भने सुचना छैन । कतिपयले आएको सवारीसाधन फेरेर जिल्ला प्रवेशद्वारमा ढाँट्ने गरेकोले थाहा पाउन नसकेको एक सुरक्षाकर्मीले बताए ।
अघिल्लो सातासम्म घट्दो दरमा रहेको संक्रमण फेरी बढिरहेको छ । दैनिक ४ सय जनासम्म संक्रमित देखिन थालेपछि यो स्थिति कायमै रहने, सुटुक्क आउनेहरु पनि जारी रहेमा फेरी स्थिति भयाबह हुने स्वास्थ्यकर्मीले अनुमान गरेका छन् । ‘कम्तिमा केही दिन क्वारेन्टाइन बस्ने र पिसिआर रिपोर्ट आएपछि मात्र समुदायमा जान उपयुक्त हुन्छ’ बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘हरेक नागरिक अब आँफै सचेत बन्नुपर्ने बेला आएको छ ।’ लामो यात्राबाट आएपछि आफ्नै परिवारको सुरक्षाका लािग पनि होम क्वारेन्टाइन बस्दा राम्रो हुने उनले बताए ।
राजधानी र तराइका जिल्लामा निरन्तर बढ्दो संख्याको कोरोना संक्रमण पनि यस्तै कारणले भएको अनुमान गरिएको छ । राजधानीमा त केही दिनदेखि प्रवेशमा कडाइ र रातको समयमा प्रवेश बन्द समेत गरिएको छ । क्वारेन्टाइनहरु सुरक्षित नभएको र वर्षातको समयमा बस्न सक्ने बन्न छाडेपछि धेरैले यात्रा गरेको कुरा लुकाउन थालेको समेत भेटिएको हो । ‘कतिपयले सदरमुकामबाट आएको भनेर ढाँट्ने प्रवृत्ति पनि भैसकेको छ’ ढोरपाटन नगरपालिका वडा नं. ५ का अध्यक्ष लक्ष्मण पुनले भने, ‘अहिले हाम्रा क्वारेन्टाइनहरु खाली भैसकेका छन् ।’ स्वास्थ्यको दृष्टीले राम्रो भएपनि घरै पुगेको अवस्था भयोभने नराम्रो बन्नेछ । उनले स्वयंसेवकमार्फत लुकिछिपी कोही आएको भए पत्ता लगाउन खोजेको पनि बताए ।
पछिल्लो समय बागलुङमा तेस्रो मुलुकबाट आउने पनि बढेका छन् । उनीहरुले सोझै विद्यालयमा बनाइएको क्वारेन्टाइनमा जान आनाकानी गरेका छन् । त्यसैले जिल्लाका केही होटलले संचालन गरेको क्वारेन्टाइनमा बस्न थालेका छन् । होटलमा बस्दाको खर्च भने स्वंले तिर्नुपर्छ । तर होटलमा सेवा सुविधा पनि पाउने भएपछि त्यस्तो खोज्ने पनि उत्तिकै छन् । ‘फ्रि–वाईफाइ, सरसफाईका लागि तातो चिसो पानी लगायतको सेवा पाएर बसियो’ साउदी अरबबाट आएका एक युवाले भने, ‘१० दिन बस्दा नेगेटिभ रिपोर्ट आएकोले घर फर्कन पाए ।’ बिद्यालयमा बसेको भए वातावरणले पनि बिरामी पर्न सक्ने भन्दै होटलमा बस्दा सुरक्षित महसुस भएको पनि उनले बताए । फर्केपछि परिवारमा नियमित सम्पर्क गर्न र अरुलाई पनि सकारात्मक सन्देश दिन होटलको बसाई उपयोगी भएको उनले बताए ।
क्वारेन्टाइनमा एउटै कोठामा धेरै मानिस बस्नुपर्ने, खानपानको बेथिती र सरसफाई अभाव भएकोबारे धेरैले टिप्पणी गर्थे । कतिपय स्थानमा खानेकुरा गुणस्तरहिन भएको पनि आरोप लाग्थ्यो । केही दिन होटलमा संक्रमण बढेको भन्दै अफवाह आएपछि होटल संचालक पनि त्रसिद थिए । अहिले भने होटलमा मानिस घटेपनि बसेकाहरुले सुरक्षित महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->