सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

श्रीधरायाचार्य फाउण्डेसनको घोषणा

श्रीधरायाचार्य फाउण्डेसनको घोषणा

१० करोडको कोष बनाउने लक्ष, देशभर १ हजार सामुदायिक भवन बनाउने अभियान


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७७, शुक्रबार

बागलुङ, २३ साउन– कुँडुले फेदीमा अवस्थित रंगवेंङ्कटेश्वर मुक्तिनारायण मन्दिर, मुक्तिनाथ बेद विद्याश्रम र शालीग्राम संग्राहलयका संस्थापक श्रीधराचार्यको स्मृतिमा ‘श्रीधराचार्य फाउण्डेसन’ स्थापना गरिएको छ ।
मन्दिरमा आयोजित सभामा फाउण्डेसनको घोषणा गरिएको हो । श्रीधराचार्यको स्मृतिमा बनाउने फाउण्डेसनले यहाँका धार्मिक, साँस्कृतिक र पुरातात्विक पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताइएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा कालीगण्डकी सम्पदा र संस्कृति तथा श्रीधराचार्य खण्डकाब्य विमोचनसमेत गरिएको छ । उक्त अवसरमा संग्राहलयका संरक्षक तथा संसारकै अग्लो कलश बनाउने अगुवा कमलानयनाचार्यले श्रीधराचार्यले थालेको अभियानको प्रसंसा गरे । कुँडुलेमा उनले थालेको अभियानबाट शालीग्राम संग्राहलय निर्माणमा सहज भएको बताए ।
फाउण्डेसनमा कम्तिमा १० करोडको कोष बनाउने लक्ष राखिएको छ । उक्त कोषले पहिलो चरणमा यहाँका संरचनाहरुलाई पूर्णता दिने काममा लगानी गर्नेछ । त्यसपछि देशभर १ हजार वटा सामुदायिक भवन बनाउने अभियान थाल्नेसमेत संग्राहलयका अगुवा ऋषि प्रपन्नाचार्यले बताए ।
हरेक दलित, जनजाती तथा विपन्न बस्तीमा एक÷एकवटा सामुदायिक भवनमार्फत पुस्तकालय, सामाजिक कामका लागि बहुउद्धेश्यीय सभाहलको रुपमा प्रयोेगमा ल्याउने योजना उनले सुनाए । श्रीधराचार्यले १ हजार शालीग्राम संग्रह गर्ने लक्षबाट थालिएको अभियानबाट सवालाख शालीग्राम राख्ने सफलता मिलेको उनले बताए । शुक्रबार श्रीधराचार्यको ८१ औ जन्मोत्सव समेत हो ।
कार्यक्रममा संघिय सांसद डा. सूर्य पाठकले धार्मिक पर्यटक बढाएर पनि जिल्लाको समृद्धि संभव हुने बताए । लकडाउन र कोरोना संक्रमणको कारण रोकिएको पर्यटन व्यवसाय संचालनमा आएपछि नेपालले आर्थिक फड्को मार्ने बताए । कुल पर्यटनमध्ये धार्मिक क्षेत्र महत्वपूर्ण हुने उनको भनाई छ । खानी भएरपनि कालीगण्डकीमा भैरहेको दोहनबाट लाखौं शालीग्राम नष्ट भैरहेको उनले बताए ।
कार्यक्रममा दुवै ग्रन्थका लेखक डा. जगन्नाथ रेग्मीले कालीगण्डकीको सभ्यताबारे संसारलाई चिनाउने अभियान थाल्नुपर्ने आबस्यकतामा जोड दिए । उनको कृतिको समीक्षा गर्दै विद्यामन्दिर माबिका पूर्व प्रअ जगन्नाथ आचार्यले यो ग्रन्थ अब अंग्रेजीमा पनि अनुवाद गर्न सुझाव दिए ।
कार्यक्रममा सहप्राध्यापक विष्णु मैत्रेयले पनि ग्रन्थको आवस्यकता र महत्व तथा शालीग्राम संग्राहलय निर्माणमा श्रीधराचार्यले थालेको अभियानको पूर्णता दिनुपर्नेमा जोड दिए । कार्यक्रम संग्राहलय निर्माण अभियानका हरिप्रसाद उपाध्यायको संचालन र ऋषि प्रपन्नाचार्यको स्वागतमा सम्पन्न भएको थियो ।
उक्त अबसरमा विमोचन भएको कालीगण्डकी संस्कृति र सम्पदा ग्रन्थमा ३० जना विद्वानले शालीग्राम, कालीगण्डकीसहितका सहायक गण्डकी नदी, ती नदी किनारको उत्पादन र जातजातीको बसाईलगायतको लेख रचना संग्रह गरिएको छ । खण्डकाब्यमा भने श्रीधराचार्यले खेलेको भूमिकाको बारेमा उल्लेख छ । उनकै अगुवाईमा म्याग्दीको गलेश्वरमा अन्नदान क्षेत्रसमेत स्थापना भएको उल्लेख छ । यसअघि उनको परिवारको अगुवाईमा पनि श्रीधराचार्य स्मृति प्रतिष्ठान गठन भएको थियो । वैधानिक रुपमा दर्ता भएर मात्र संचालन गर्दा उपयुक्त हुने भन्दै विभिन्न व्यक्तिले सुझाव समेत दिएका छन् ।
संग्राहलय रहेको स्थानमा गत वर्ष ७ करोड रुपैयाँको लागतमा मन्दिर बनेको छ भने समाजसेवी सहदेव राजभण्डारी र उनको परिवारका सदस्यले १ करोड खर्चेर सत्तल बनाइदिएका छन् । सत्तललाई तामाको छाना लगाइएको छ । पर्यटकीय गन्तव्य बनाउन यहाँ अझै करोडौ लगानी गर्ने योजना समेत बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->