बागलुङ, २४ साउन– नेपाली महिलाले राजनीतिक अधिकार पाएपनि प्रयोगमा आउन नसक्दा अझै पछि परिरहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । कानूनमा लेखेपनि व्यवहारमा कानूनी अधिकार पाउन नसकेको तथा समाजले अझै महिलालाई अधिकार दिन नखोजेको आरोप पनि उनीहरुले लगाए ।
नेपाल महिला संघको ७३ औं स्थापना दिवशको अबसरमा बागलुङमा आयोजित एक कार्यक्रममा सहभागिले अझै हत्या हिंसा र बलात्कारका घटना बढ्नुले महिलाको अधिकार माथी सम्मान गर्ने वातावरण नबनेको समेत बताए ।
महिला संघले कोरोना संक्रमणको कारण मास्क बितरण तथा छोटो प्रवचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्यले अधिकार रक्षाका लागि सबैले ससक्त कदम चाल्नुपर्ने बताइन् । उनले कोरोना संक्रमणबाट बच्न सचेतना अपनाउन पनि सुझाव दिइन् ।
नेपाल महिला संघ बागलुङकी सचिव उशा पौडेलको अध्यक्षता, अर्की सचिव भगवती केसीको संचालन र उपाध्यक्ष सीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा महिला संघकी संस्थापक मंगलादेवी सिंहको तस्बिरमा माल्यापण पनि गरिएको थियो । उक्त अबसरमा लोकतान्त्रिकचोकमा संघले मास्क बितरण गरेको थियो । मास्क नलगाई हिडेकालाई बोलाएर दिने काम पनि भएको हो ।
यसैबीच महिला संघ काठेखोलाले कोरोना संक्रमण बिरुद्ध सरसफाई अभियान र पूजाअर्चना कार्यक्रम गरेको थियो । रामकोट मन्दिर सहित सामाजिक क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको कांग्रेस जिल्ला सदस्य तथा महिला संघकी संघिय प्रतिनिधि ज्ञानकुमारी श्रीषले बताइन् । कार्यक्रममा कांग्रेस बागलुङका पूर्व सभापति गोबिन्दप्रसाद कंडेल, कांग्रेस काठेखोला प्रमुख ज्ञामनाथ कंडेल, प्रदेश अध्यक्ष तथा वडा अध्यक्ष शिवप्रसाद कंडेल, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष हरिप्रसाद कंडेल,राजु सापकोटा, यामदत्त कंडेल, महिला नेतृ उजेली निउरे, सिता कंडेल र रनमाया कंडेलले महिला संघको अभियानबारे बोलेका थिए । दिवशको अवसरमा गलकोटमा महिला संघले सडकमा असुरक्षित हिडेकालाई मास्क बितरण गरिएको केन्द्रीय सदस्य रेणुका काउचाले बताइन् । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले गलकोटमा छड्के गर्दै मास्क नलगाएकालाई जरिवाना गराएकै बेलामा महिला संघले भने मास्क बितरण गरेको हो । दिवशको अबसरमा जैमिनी र अन्य पालिकाहरुमा पनि महिलाहरुले अधिकारको लडाइमा अझै संघर्ष गर्नुपर्ने बेला आएको आवस्यकता औल्याएको बताएका थिए ।





