सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा जनप्रतिनिधीको धम्की, ‘तिम्रो फेमेली उडाइदिन्छु’

पोखरामा जनप्रतिनिधीको धम्की, ‘तिम्रो फेमेली उडाइदिन्छु’

इञ्जिनियर अनिल आचार्यले आफूले घुस मागेको प्रमाणित गरे झुण्डिन तयार रहेको प्रतिक्रिया दिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७७, शनिबार

पोखरा, २४ साउन – पोखरा महानगरपालिका एक जनप्रतिनिधि ‘घुस’ काण्डमा मुछिएका छन् । रकम मागेको तथा उपभोक्ता समितिका अध्यक्षलाई धम्क्याएको दुईवटा अडियो संचारमाध्यममा सार्वजनिक भएसँगै उनी सो काण्डमा मुछिएका हुन् । वडा नम्बर २१ का वडासदस्य राजकुमार गुरुङले सडक उपभोक्ता समितिका अध्यक्षसँग रकम मागेको अडियो जनसंचार डटकम नामक न्यूजपोर्टलमा सार्वजनिक भएको थियो । सो अडियो सार्वजनिक भएलगत्तै उनले उपभोक्ता समितिका अध्यक्षलाई पुनः धक्क्याएको अडियो चाहिँ ताण्डवन्यूज डटकममार्फत् सार्वजनिक भएको छ । वडासदस्य गुरुङले इञ्जिनियरहरुले नै घुस मागेको बताउँदै पैसा दिएपछि मात्रै फाइल अगाडि बढ्ने भएकाले पैसा दिनुपर्ने माग गरेका हुन् । वडासदस्य गुरुङले साविक कृस्तीको हर्राबोटबाट रातोमाटा महेश्वर भण्डारीसँग पैसा मागेको र पछि उनलाई नै धक्याएका हुन् ।
पहिलो अडियोमा महेश्वरले पहिला फाइल दिनुहोस् र पैसा पछि दिउँला भन्दा वडासदस्य गुरुङले पैसाको कुरा गर्दै इञ्जिनियरले पैसा नभई काम नगर्ने जिकिर गर्दै भनेका छन्,‘ मान्दैन क्या, मान्ने भए फाइल बुझाउन के आइतबार भयो र , अर्को कसको हो फाइल पनि ल्याङल्याङ भएको छ, पैसा र फाइल एकैचोटी गर त ।’ महेश्वरले आफूसँग पैसा नभएको चेक दिन्छु भन्दा वडासदस्य गुरुङले ‘गाह्रो नमान, काम गर, उनीहरुसँग काम फालाफाल छ, उनीहरु रातिराति घरमा काम गर्छन्, त्यसै गर्छन् ?’भनेका छन् । प्रत्युत्तरमा महेश्वर बुझेँ मात्रै भन्छन् र भए पैसा दिने कुरा गर्छन् । महेश्वरले ४/५ लाख डोजरलाई र अन्यत्र पनि पैसा दिनुपर्ने कुरा गरेपछि वडासदस्य भन्छन्,‘फाइल मात्र लिएर नआउनुस्,पैसा पनि लिएर आउनुहोस्,पैसा नपाए इष्टमेटमा थोरै बनाइदिए समस्या भएन ? पैसा नै लिएर आए पो यो मान्छे यस्तो भन्न मज्जा लाग्छ ।’ त्यसपछि महेश्वर इञ्जिनियरले कति मागेका छन् भन्ने प्रश्न राख्छन् र २/४ हजार भए दिनसक्ने आशय व्यक्त गर्छन् ।
त्यसपछि वडासदस्य गुरुङले लामो तर्क गर्दै भनेका छन्,‘दुईजनाको साइन गर्नुपर्छ,त्यहाँ गोदार भन्ने छ,१७ मा बसेर काम गर्छ ।’ बाटो निर्माण समितिका अध्यक्ष महेश्वरले बाटो नबनेकोमा वडाध्यक्षले कराएको बताएपछि वडासदस्य भन्छन्,‘५०/६० हजार पनि दिन सक्दैनौ ? नत्र, हेरेर बस्ने हो ?हेरेर बस् ।’
यो कुराकानीपछिको अर्को अडियोमाा चाहिँ वडासदस्य गुरुङले अडियो रेकर्ड कसलाई बुझाएको भन्दै धम्क्याएका छन् । उनले भनेका छन्,‘म कांग्रेस र माओवादी साइड लाइदिन्छु,तिमीले मलाई भेट, हेर भाई तिमीले मेरो करिअरमा दाग लगाउन खोज्यौ भने तिम्रो फेमिली उडाँइदिन्छु ।’ त्यसपछि बाटो निर्माण समितिका अध्यक्षले आफूले वडासदस्यलाई अरुले फसाउन खोज्दा बचाएको बताउँदै फेमिली उडाउने कुराले असर गर्छ भनेका छन् । त्यसपछि दुबैको चर्काचर्की पर्छ । महेश हाँस्छन् ।
त्यसपछि वडासदस्य गुरुङ भन्छन्,‘‘हाँसेर खिल्ली नउडाऊ, मलाई तुरुन्त भेट, तिम्रोबारेमा पनि म भन्छु,तिमीसँग मैले पैसा मागेको छु भने भन, मैले तिमीलाई सपोर्ट गर्छु भनेका हुँ, तिमीले पछि गएर इञ्जिनियरलाई पैसा दिएका रहेछौ, मैले इञ्जिनियरसँग कुरा गरिसकेको छु ।’ त्यसपछिको कुराकानीमा वडासदस्यले पटकपटक भेट्ने आग्रह गर्छन् र महेश्वर तँ–तँ,म..म..मा उत्रिँदै ३ बजेभित्र नभेटे जे पनि हुने धक्की दिन्छन् । अडियोका केही संवादहरु झण्डै अश्लिल छन् ।
वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले सार्वजनिक भएको अडियो आफूले सुनेको र आफ्नो वडामा कानून विपरितका कुनै कार्य हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘मैले बिहान – शनिबार) मात्रै सुनेँ, बिहान खाना खाएपछि सुनेको, १६ मिनट ३५ सेकेण्ड जाँदा मेरो कुरा भएको रहेछ’, उनले भने,‘ पैसासँग मेरो मतलब छैन ।’
उनले घटनाको जानकारी पार्टीको माथिल्लो निकायमा गराएको बताएका छन् । वडाध्यक्ष आचार्य र सदस्य गुरुङ तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका नगर इञ्चार्ज तथा मेयर मानबहादुर जिसी र नेता खगराज आचार्यलाई घटनाबारे जानकारी गराएको बताए ।
‘पार्टीको कुरा गर्ने हो भने पार्टीलाई खवर गरेको छु, वडा समितिका सदस्यहरु मात्रै बस्ने हो भने उनीहरुसँग कुरा गर्छु’,उनले ढोरपाटनसँग टेलिफोनमा भने,‘ आइतबार मिटिङ राख्दैछु, खगराज आचार्यले कानूनी शासन कायम राख्ने कुनै कसुर बाँकी राख्दैन ।’ वडाध्यक्ष आचार्यका अनुसार बाटो बनाउने बेला अडियोमा नाम लिइएका इञ्जिनियर अनिल आचार्य बाटो निर्माणको बेला वडामा कार्यरत थिएनन् । त्यो बेला त्यहाँ सन्तोष जिसी इञ्जिनियर थिए । अनिल आर्चाय सन्तोष हटेपछि आएका हुन् । वडाध्यक्ष आचाईका अनुसार अहिले इञ्जिनियर र ओभरसियर आएका छैनन् ।उनका अनुसार त्यो बाटोमा यसअघि पनि अनियमितता भयो भन्दै अख्तियारमा उजुरी परेको थियो । यद्यपि, अख्तियारले उजुरीपछि सफाई दिइसकेको छ ।
यता, अडियोमा नाम लिइएका इञ्जिनियर अनिल आचार्यले आफूले घुस मागेको प्रमाणित गरे झुण्डिन तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘पोखरा महानगरपालिका वडा न २१, मा झन्डै १७ महिना बस्दा १७ पैसा मात्रै कोही कसैले घुस र कमिसन दिएको भन्ने भनोस र प्रमाणित गरोस, मलाई १७ रुपैयाको डोरी पर्याप्त हुनेछ । यति मात्र होइन झन्डै ७ वर्ष स्थानीय निकाय र तहमा जागिर गरेको मेरो अनुभवमा योजना पास गर्नकै लागि कमिसन र घुसको सहारा लिनु परेन, बरु ठग र घुसखोर ठेकेदार र समितिसँग आज पनि मेरो लडाई जारी छ, समितिमा पैसो खान नपाएको कारण मार्छु, काट्छु भन्दै विषबमन गर्ने मित्रहरु पनि हुनुहुन्छ, उचित समयमा तथ्य बाहिर आउने छ नै । बाँकी कानुनी उपचारमा लाग्ने नै छु । यो सङै वडा न २१ का थप केही बिषय पछि पनि आउछन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->