
बागलुङ, २५ साउन– झण्डै सात वर्षअघि बनेको रात्माटास्थित बागलुङ नगरपालिकाको भवन दुई वर्षदेखि रित्तो छ । नगरपालिका कृषि विकास कार्यालयको भवनमा सरेको छ । नगरप्रमुख प्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा भाडाको घरमा बस्छन् । उनीहरुले मासिक हजारौं भाडा तिरेपनि आफ्नो भवन भने उपयोगबिहिन छ ।
आफ्नै भवनमा कोही नबसेकोले जीर्ण बन्दै गएको छ । घर वरपर झार उमे्रको छ । झण्डै ७ करोड रुपैया“ खर्चेर बनाएको भवन उपयोगविहिन भएपछि पशु चरन र मोटरसाइकल सिक्नेलाई उपयुक्त ठाउँ बनेको छ । आफ्नै भवन बन्नुअघि भाडामा बसेको नगरपालिकाले रात्माटावासीले जग्गा उपलब्ध गराएपछि भवन बनाएको थियो । जनप्रतिनिधि आएपछि भने नगरपालिकाले आफ्नो कार्यालय बजारमा सारेर भवन अलपत्र पारेको हो ।
३ रात्माटामा तीनतले भवन बनाएको चार वर्षमै सुबिधाको बाहना बनाएर कृषि विकास कार्यालय, महिला विकास कार्यालय र तत्कालिन जिविसमा नगर सारिएको छ । महिला विकास कार्यालयको भवनमा उपप्रमुख, महिला विकास शाखा र न्यायिक समिति संचालनमा छ । नगरपालिकाले आफ्नो भवन जीर्ण बनाएर सरेपछि केही वडा र रात्माटा सेवा समाजले विरोध पनि गरेका थिए । समाजले उच्च अदालत बागलुङमा रिटसमेत दायर गर्दा नगरपालिकाले सेवा केन्द्र मात्र बनाएको दाबी गरेकोले अदालतले पनि सेवा केन्द्र पायक पर्ने स्थानमा राख्न सक्ने आदेश दिएको थियो ।
नगरपालिकाले सेवा केन्द्रको नाउ“मा सबै सारेपछि रात्माटाको भवन जीर्ण भएको हो । पुरानो जिविसमा राजश्व शाखा छ । शिक्षा, स्वास्थ्य र वातावरण शाखा पनि कृषिमै सरेपछि रात्माटाको भवनको गेटसमेत फुटालिएको छ । ‘यो भवनमा मानिस देख्न छाडेको दुइ वर्ष भयो’ रात्माटाका बैकुण्ठ सापकोटाले भने, ‘जनताको कर उठाएर करोडौं अलपत्र पार्ने छुट कसले दियो ?’ नगरपालिकाले अदालतलाई पनि झुटो बयान दिएको उनले टिप्पणी गरे ।
कृषि ज्ञान केन्द्रले भने फेरी कार्यक्रम संचालन गर्ने तयारी गरेपछि यो समस्या फेरी बल्झने देखिएको हो । हाल ज्ञान केन्द्र पर्वतमा मात्रै छ । ‘कृषि मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु जोन, सुन्तला जोन वा अन्य पकेट र ब्लकका कार्यक्रम ल्याउ“दा राख्ने स्थान छैन’ कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले भने, ‘महत्वपूर्ण सामग्रीसमेत हिनामिना पारियो ।’
सम्पर्क कार्यालय राख्ने भन्ने सूचनासमेत नदिईकन ताला फोडेर कार्यालय सारिंदा धेरै नोक्सानी भएको उनले टिप्पणी गरे । तत्कालिन भूसंरक्षण कार्यालयलाई दुई जिल्लाको एकीकरण गरेर पर्वत पठाइएको छ । बागलुङको कार्यालयमा अहिले सशष्त्र प्रहरी बलको युनिट पनि अस्थायी रुपमा बसेको छ । यो भवन वन मन्त्रालयको स्वामित्वमा छ ।
महिला बालबालिका कार्यालय खारेजीमा परेकोले नगरपालिकाले आफ्नै कार्यालयझै प्रयोग गरेको छ । पुरानो जिविसको भवन भने स्थानीय विकास मन्त्रालयकै स्वामित्वमा छ । नगरपालिकाको रेकर्डमा २ सय २० जना कर्मचारी छन् । कर्मचारी सरेपछि रात्माटाको कार्यालय भुत बंगलाजस्तै भएको स्थानीय कबिन्द्र सापकोटाले टिप्पणी गरे । उक्त भवनमा राखिएको राष्ट्रिय झण्डा च्यातिएर झुण्डिएको समेत व्यवस्थापन नभएको उनले गुनासो गरेका छन् ।
कार्यालय सारेपनि नागरिक बडापत्रमा झार उमे्रको छ । बिहान र बेलुकी यो भवनको कम्पाउण्डमा मोटरसाइकल सिक्नेहरु प्रशस्त देखिन्छन् । बोटबिरुवा र रोपिएका फुलहरु चोरी भैसकेका छन् । गेट भत्केकोले गाईभैसीसमेत भित्रै पसेर चर्छन् । कतिपय ढोका फुटेका छन् । निर्माणाधिन सभाहल अलपत्रै छ । भवनका कतिपय सामान चोरी भैसकेको हुन सक्ने स्थानीयले गुनासो गरे ।
उच्च अदालतले सेवा केन्द्र सार्न दिएको आदेशविपरित सबै नगर कार्यालय सारेपछि रात्माटा सेवा समाजका मानिस निराश छन् । उनीहरुले निशुल्क जग्गा दिएपछि नगरपालिका भवन बनाइएको थियो । ‘आफ्नो जमिन र भवन जीर्ण बनाएर अर्काको भवनमा बस्नु राम्रो होइन’ सापकोटाले भने, ‘केही गरी कृषि र भूसंरक्षणको भवनबाट बाहिरिनु पर्दा नगरपालिका झोला बोकेर कता जाने ?’ भएको भवन जीर्ण हुने गरी बेवास्ता गर्नु हु“दैन । नया“ पालिका बनेपछि बलेवा क्षेत्रका वडा अध्यक्षहरुले पटक पटक विरोध जनाएपछि नगरपालिकालाई मुख्य बजारमा सेवा दिन सारिएको नगरप्रमुख जनकराज पौडेल बताउँछन् । ‘अधिकांस नागरिकको सेवाको पहु“च बढाउन खोजेका हौं’ पौडेलले भने, ‘यहा“ पाईने सेवा रात्माटाबाट पनि पाइन्छ ।’ तर रात्माटामा दुई वर्षदेखि लगाएको तालामा समेत खिया लागेको छ ।





