बागलुङ, २५ साउन– जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीमा संचालित सामुदायिक बिद्युतीकरणको बैठकमा सहभागिले माइन्युट लुटेपछि बैठक भाँडिएको छ ।
आइतवार बसेको बिद्युतीकरण उपभोक्ता समितिको बैठकमा नेकपाका वडा कमिटि अध्यक्ष कुलबहादुर पुन सहितको टोलीले माइन्युट नियन्त्रणमा लिएका हुन् । उपभोक्ता समितिका अध्यक्ष याबहादुर क्षेत्रीले भने पुन सहितको टोली आएर हेरौ भन्दै जवरजस्ती माइन्युट लुटेर लगेको आरोप लगाए । ‘आम भेलाबाट म अध्यक्ष भएको हो, तर उहाँहरुले राजनीतिक दोष देखाएर माइन्युट लैजानु भयो’ क्षेत्रीले भने, ‘यस अघिका अध्यक्षले गरेको अनियमितताको अख्तियारमा उजुरी परेकोले त्यतिबेलाको हिसाबकिताव पनि छानविन गर्दैथियौं ।’ यस अघिका अध्यक्ष भोजराज पौडेलको पालामा झण्डै ९ लाख हिनामिना भएको भन्दै परेको मुद्दाबारे उनीहरुले अडिट गर्न लागेको बताए ।
‘बैठक बसिरहेको बेलामा आउनु भयो, माइनुट हेर्न भन्नु भयो, नदिने कुरा भएन’ क्षेत्रीले भने, ‘दिएपछि नाटकीय रुपमा एकले अर्कोको हातमा गर्दै लगेपछि हामीले काम अगाडि बढाउन सकेका छैनौं ।’ पुनले भने समितिमा केही असन्तुष्टी भएकोले लुटेको नभइ नियन्त्रणमा राखेको दावी गरे । ‘सर्बदलीय समिति बनाऔं, नेकपालाई अध्यक्ष दिनुपर्छ भनेका थियौं’ पुनले भने,‘ नमानेपछि हामीले सहमतिमा समिति बनाएर मात्र काम गर्न दवाव दिइरहेका छौं, त्यही मिलेपछि माइन्युट फिर्ता दिन्छौं ।’
क्षेत्री नेतृत्वको समिति बनेको ७ महिना भयो । क्षेत्री कांग्रेस निकट हुन् । क्षेत्रीले आमभेलाबाट अध्यक्ष भएको बताए । ‘नगरपालिकाले दिएको १ सय ५० वटा फलामे पोल बितरण गरेर गाड्ने तयारी थियो, जीर्ण पोल फेर्ने कुरामा पनि राजनीति भयो’ उनले भने, ‘उहाँहरुले कर्मचारीले संकलन गरेको पैसा पनि कार्यालयमा नबुझाउन दवाव दिनु भएको रहेछ ।’ यहाँका ६ सय ५७ घरमा सामुदायिक बिद्युतीकरण मार्फत बिजुली बालिएको छ ।





