सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खाली भए शिवालय मन्दिर, देवघाटमा पनि पर्यटक शुन्य

खाली भए शिवालय मन्दिर, देवघाटमा पनि पर्यटक शुन्य


  • विनोद ढुङ्गाना
  • साउन २६ २०७७, सोमबार

तनहुँ, २६ साउन – साउन महिनामा सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्दथ्यो । तर, यो बर्ष कतैपनि भक्तजनको भिड देखिएन् । तनहुँ, चितवन र नवलपुरको संगमस्थलमा रहेको प्रसिद्ध धार्मिकस्थल देवघाटधाम सुनसान बन्यो । साउनमा लाग्ने बोलबम मेला यसबर्ष आयोजना भएन । १५ बर्षदेखी त्यहाँ निरन्तर साउनको हरेक सोमबार बोलबम मेला आयोजना हुदै आएको थियो । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलने जोखिम भएकाले सरकारले धार्मिकस्थलहरु बन्द गर्न गरेको आग्रह बमोजिम देवघाटमा बोलबम मेला नगरिएको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।
विगतका बर्षको तथ्याङ्कलाई हेर्ने हो भने साउन महिनामा मात्र देवघाटमा पाँच लाख बढी दर्शनार्थी आउने गरेका थिए । पौडेलका अनुसार धेरै भीडभाड हुने भएकाले यो बर्ष देवघाट क्षेत्र प्रवेशमा रोक लगाईएको हो । देवघाट प्रवेशद्धारमा प्रहरी पोस्ट नै राखिएको छ । देवघाट क्षेत्र सुनसान हुदाँ त्यस क्षेत्रका आश्रम, गुरुकुल, मठमन्दिर, व्यापार, व्यवसाय र पर्यटन क्षेत्रमा व्यापक प्रभाव पारेको उनले सुनाए ।
पछिल्लो समय मिनी मुक्तीनाथको रुपमा परिचत शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम पनि सुनसान रहेको छ । विशेषत साउने सोमबार हुने शिवभक्तको भीड यसपाली देखिएन् । स्थानीय पुजाअर्चनाका लागी मन्दिर आएपनि टाढाबाट आउने भक्तजन नआएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमेन्द्र लालचनले बताए । पछिल्ला बर्षहरुमा यहाँ साउन महिनामा शिवपुराण लगाउने गरिन्छ । लालचनका अनुसार यसपाली मन्दिरकै पुजारीको मुखारवृन्दबाट शिवपुराणको पाठपारायण गरीयो । तर, गएका बर्षहरुमा जस्तो भक्तजनलाई सहभागीताको लागी आह्वान गरीएन ।
भिमाद नगरपालिका–९ धन्धुरमा रहेको सिद्ध गुफा पनि सुनसान बनेको गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले बताए । चार तले सिद्धगुफामा गएको बर्षसम्म साउन महिनामा भक्तजनहरु बढी आउने गरेका थिए । गुफामा नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर शुभारम्भ गरिएपनि कोरोना भाईरसले उक्त लक्ष्य तुहाईदिएको छ । नेपाल सरकारले भ्रमण बर्ष स्थगित गरेसंगै गुफाको कार्यक्रम पनि स्थगित गरिएको हो ।
साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत बस्दा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ । साउने सोमबार शिवलाई शुद्ध जल अर्पण गर्दा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । तर, कोरोना भाईरसका कारण भक्तजनहरु मन्दिरसम्म पुग्ने वातावरण रहेन् । घरमै बसेर शिवको पुजाअर्चना गरेर मनाएको भक्तजनहरु वताउछन् । पछिल्लो बर्षमा जिल्लामा बोलबम संस्कृती पनि बिकसित हुदैँछ । जिल्लाका विभिन्न स्थानमा बोलबम यात्रा निकाल्ने गरिएकोमा यसपाली त्यो पनि रोकिएको छ ।
साउनमा शिवालय सुनसान भएका हुन् । तर, कोरोनाको संक्रमण फैलन नदिन चैत ११ गतेदेखी सरकारले लागु गरेको लकडाउनसंगै बन्द भएका जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरु पनि अझै खुलेका छैनन् । यहाँका ढोरबारही, छाब्दीबाराही, अकलादेवी, छिम्केश्वरी माईको मन्दिर, व्यास गुफा, परासर क्षेत्र पनि सुनसान रहेका छन् । लकडाउन पछि छिटफुट भक्तजन आउने गरेपनि मन्दिर खुला नगरिएको ढोरबाराही मन्दिरका पुजारी चिरञ्जवी लम्सालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->