सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विपत् व्यवस्थापनको राहतमै विभेद

विपत् व्यवस्थापनको राहतमै विभेद

एकै दिन भत्केका घरलाई कसैलाई ६ हजार कसैलाई १२ हजार राहत


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७७, मंगलबार

बागलुङ, २७ साउन– बाढी र पहिरोका कारण घरगोठ भत्किएकाहरुलाई जिल्ला विपत् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढी पहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो ।
गत साउन ७ गते बागलुङ नगरपालिका–५ मालिकामा पहिरोका कारण भत्किएका पाँच घर परिवारका लागि समितिले उपलव्ध गराउने राहत रकम फरक–फरक छ । एकैदिन घर भत्किएका हेमराज रेग्मीलाई समितिले १२ हजार रुपैयाँ उपलव्ध गराएको छ भने सोही ठाउँकी गांगा पौडेल उपाध्यायलाई ६ हजार रुपैयाँ उपलव्ध गराएको छ ।
मालिकाकै भरत रेग्मीले समितिको तर्फबाट १० हजार रुपैयाँ राहत लिएका छन् । उनको गोठसमेत काम नलाग्ने गरेर भत्किएको छ । केही साताअघि पहिरोकै कारण घर भत्किएका बागलुङ नगरपालिका–४ कुँडुलेका टंकनाथ आचार्यले भने १५ हजार रुपैयाँ राहत पाएका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले फरक–फरक समयमा राहतका लागि पुग्ने सर्वसाधारणलाई फरक फरक हिसाबले राहत दिएको पाइएको हो । ‘क्षतिको हिसाबले भन्ने हो भने कम राहत पाउनेको क्षति बढी भएको छ’, बागलुङ नगरपालिका–५ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले भने ‘सिडियो सापलाई कुराकानी गर्दा बजेट नभएकाले फरक फरक भएको भन्नुभो ।’
नेपाल सरकारले पछिल्लो पटक बनाएको विधि अनुसार ५ जनाको परिवारसम्मलाई घर भत्किएमा १५ हजार र त्योभन्दा धेरै परिवार संख्या भएमा प्रतिपरिवार २० हजार रुपैयाँ राहत रकम उपलव्ध गराउने व्यवस्था छ । पछिल्लो विधि बनाउनु पूर्व समेत घरगोठ बस्नै नमिल्ने गरी भत्केको परिवारलाई १५ हजार रुपैयाँसम्म दिने व्यवस्था थियो । ‘हामीले केही जान्दैनौ जति दिए उति लिइयो’, गंगा पौडेल उपाध्यायले भनिन्, ‘हामीलाई त तपाईंले पाउने यत्ति हो भनेर दिए ।’ विपत् व्यवस्थापन समितिबाट पाएको रकमले परिवारको एक महिनाको खाद्यान्न खर्चसमेत नपुग्ने उनले गुनासो गरिन् ।
यता बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बजेट कम भएकाले घटनाको प्रकृति हेरेर रकम उपलव्ध गराउँदै आएको बताए । ‘नयाँ विधि बनेको छ, बजेट पुरानै अनुसार आउँछ’ न्यौपानेले भने ‘बजेट नभएकाले मुचुल्काको आधारमा राहतदिनु परेको हो, सबै ठाउँमा आफै पुग्न सम्भव हुँदैन, कागजका आधारमा दिएका छौं ।’ विपत्को सामना गरिरहेका न्युन वर्गिय परिवारले भन्दा मध्यम वर्गका परिवारले राहत रकम धेरै पाएको वडा अध्यक्ष सापकोटा बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->