सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढीपहिरो पिडित सवैलाई आवासको ब्यवस्था : मुख्यमन्त्री गुरुङ

बाढीपहिरो पिडित सवैलाई आवासको ब्यवस्था : मुख्यमन्त्री गुरुङ

पार्टीभित्र लागेको भाइरस पार्टी र नेताको विरुद्धमात्रै नभई नेपाली जनता, समृद्धि र स्थिरताको विरुद्ध छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७७, मंगलबार

पोखरा, २७ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाढीपहिरो पिडित सवैलाई प्रदेश सरकारले आवासको ब्यवस्था गर्ने वताएका छन् । बाढीपहिरोबाट यो बर्ष गण्डकी प्रदेशमा अलि वढि नै जनधनको क्षति भएकाले प्रदेश सरकारले पिडितहरुको समस्या सम्बोघन गर्न लागेको छ, मुख्यमन्त्री गुरुङले भने, ‘घरवास गुमाएका सवैलाई यो बर्ष नै आवासको ब्यवस्था गर्दैछौ ।’
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले संस्थाको वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीले भूकम्प पिडितलाई घरको ब्यवस्था गर्ने संघिय सरकारले बाढिपहिरो पिडितको समस्यामा खासै ध्यान नदिएको गुनासो गर्दैे घरवास गुमाएका सवैलाई स्थानीय सरकारसंगको सहकार्यमा आवास दिनेगरी काम अगाडि बढी सकेको वताए ।
कोही पनि नागरिकलाई आफुँले वस्ने ठाउँ पाइएन् भन्ने गुनासो आउन नदिन गण्डकी प्रदेश सरकारले कार्यविधि बनाएर काम थाल्ने वताउदै जग्गा ब्यवस्थापनको जिम्मेवारी भने स्थानीय सरकारको नै भएको वताए । ‘सरकारी जग्गामा नीजि घर बनाउन सकिदैन’, मुख्यमन्त्री गुरुङले भने, ‘बाढीपहिरो पिडितका लागि जग्गाको ब्यवस्था स्थानीय सरकारले गर्नेगरी कार्यविधिी बनाएर सवैलाई आवासको ब्यवस्था मिलाउछौ ।’
बाढीले नष्ट भएका सवैको घर बनाउने भनेका छौ, त्यसका लागि यो बर्ष कम्तीमा ५ सय घर बनाउछौ । क्षति धेरै नै भयो । विपद प्राधिकरणले पनि सोचे जस्तो काम गरेन्, मुख्यमन्त्री गुरुङले भने, ‘ठोस ऐन, नियमको अभावमा प्रदेश सरकारले सोचेर पनि काम गर्न सकेको छैन् । तर पनि बाढीपहिरोले नष्ट भएका सवै घर बनाएर पिडित नागरीकलाई दिन्छौ ।’


कोरोना भाइरसभन्दा पार्टीभित्रको भाइरस खतरानाक
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले प्रदेशमा पनि दुःख दिइरहेको वताउदै मुख्यमन्त्री गुरुङले कन्ट्रोल भन्दा बाहिर भने नगएको वताए । कोरोना अहिलेसम्म हाम्रै कन्ट्रोलमा छ, यसको नियन्त्रणको विधी नभएकाले रोगसंग लड्ने क्षमता वृद्धि गरेर मात्रै हराउने सकिने उनले वताए । औषधी छैन, संक्रमितलाई आइसोलेसनमा राखेर अरुलाई सर्नबाट जोगाउने हो । बँच्नका लागि सवैले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्दछ । प्रदेश सरकारले पिसिआर मेसिन खरिद गरेर भएपनि कोरोना चेकजाँचलाई सहज बनाएको वताउदै जनताको जीवन रक्षाको लागि केन्द्र सरकारबाट प्रयाप्त सहयोग नभएको वताए । ‘जनताको जीवनको सुरक्षा गर्ने दायित्व त संघको हो । तर यहाँ त गण्डकी अस्पतालले नै असहयोग गर्यो ।’
अर्काे प्रशंगमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले कोरोना भाइरसभन्दा पनि आफ्नो पार्टीभित्रको भाइरसले दुःख दिइरहेको बताए । ‘नेपाल कम्युनिस्ट पार्टीमा जुन भाइरस लागेको छ, त्यसको अनुसन्धान गर्नुपर्छ खोप पत्ता लगाउन जरुरी छ, त्यो भाइरसलाई समाप्त पार्न जरुरी छ ।’ पार्टीभित्र लागेको भाइरस पार्टी र नेताको विरुद्धमात्रै नभई नेपाली जनताको विरुद्धमा, समृद्धिको विरुद्धमा र स्थिरताको विरुद्धमा रहेको उनले वताए ।
‘अहिले हामी संक्रमणै संक्रमणमा छौं, अत्यासै अत्यासमा छौं, कठिनाइ नै कठिनाइमा छौं, यत्रो भाइरसको महामारीमा छौं, पार्टीको भाइरसले पो झन् बढी दुख दिएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘कोरोना नोवल भाइरसको महामारीभन्दा पार्टीको भाइरस खतरनाक छ ।’ जनताले कम्युनिस्टलाई ५ वर्ष सरकार सञ्चालन गर्न जिम्मेवारी दिएको बेला पार्टीभित्रको भाइरसबाट दुख पाइराखेको वताउदै उनले भने, ‘५ वर्ष सरकार चलाउने बेलामा किन झगडा गर्छौं हामी ? खुरुखुरु सरकार चलाउने । कमजोरी गरेको छ भने पार्टीभित्र छलफल चलाउने हो तर एउटा सानो कमजोरीलाई लिएर सरकार चेन्ज गरेर जनताले दिएको जनमतको अपमान गर्ने अधिकार कुनै नेतालाई छैन । हाम्रो पार्टीलाई पनि छैन ।’
कम्युनिस्ट पार्टीले इतिहास मेन्टेन गर्नुपर्ने खाँचो भएको मुख्यमन्त्री गुरुङले औंल्याए । ‘चाहे त्यो नाकाबन्दीको बेला होस्, चाहे त्यो अन्तर्राष्ट्रिय परिवहनको कुरा होस्, चाहे दुई देशको सम्बन्ध स्थापित गर्ने कुरा होस्, इतिहास निर्माण गरेको पार्टी हो कम्युनिस्ट पार्टी ।’ उनले भने, ‘चाहे संविधान निर्माणको नेतृत्व गरेको कुरा होस्, चाहे शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गरेको कुरा होस्, कम्युनिस्ट पार्टीले इतिहास निर्माण गरिरहेको छ, तर अब एउटा इतिहास बनाउन बाँकी छ, त्यो भन्या, जनताका सामु बाचा गरेको कुरा ।’ उनले जनतासँग बाचा गरे झैं कम्युनिस्ट पार्टीले स्थायी सरकार दिन सक्नुपर्ने बताए ।
‘हामी लगातार ५ वर्ष सरकार चलाउँछौं, जनताको समृद्धिमा योगदान गर्छौं भन्या हैन, हामीले कबुल गरेको हैन, त्यसो भएर यो सरकारलाई दायाँबायाँ नगरेर काम गर्न दिनुपर्छ,’ उनले भने, ‘१५, ४८, ५१, ५६, ६४ र ७४ मा भएका आम चुनावपछि कम्युनिस्टले मात्रै ५ वर्ष सरकार चलाउन सक्यो भन्ने सन्देश दिनुपर्यो । नेपाल कम्युनिस्ट पार्टीमा जुन भाइरस लागेको छ, त्यसको अनुसन्धान गर्नुपर्छ खोप पत्ता लगाउन जरुरी छ, त्यो भाइरसलाई समाप्त पार्न जरुरी छ ।’
दुई पत्रकार पुरस्कृत
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदेशमा क्रियाशिल दुई पत्रकारलाई सम्मान गरेको छ । तीन दशकभन्दा बढि पत्रकारिता गरेका पोखराका पत्रकार रुद्र वहादुर थापा बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारीलाई कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । नगद रु. २५ हजार र सम्मान पत्र रहेको सो पुरस्कार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै पत्रकारलाई प्रदान गरे ।
पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री गुरुङले गतबर्ष सञ्चार क्षेत्रको विकास र श्रमजीवि पत्रकारलाई सम्बोधन गर्न नसकेको स्विकार गर्दै यो बर्ष भने पत्रकार र सञ्चार क्षेत्रको विकास र सम्वद्र्धनका लागि बजेट बिनियोजन गरेको वताए । ‘यो बर्ष हामीले थोरै भएपनि बजेटको ब्यवस्था गरेका छौ, तपाईहरुको मागको सम्बोधन हुन्छ ।’
सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, बागलुङका अध्यक्ष दिल शिरीष, अधिवक्ता सुरेन्द्र थापा, फोनिजका गण्डकी इन्चार्ज हुम गुरुङ, सम्मानित पत्रकार राजभण्डारी र थापा लगायतले वोलेका थिए । कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष एम.वि.आस्थाको अध्यक्षता र महासचिव रुद्र श्रीसको सञ्चालनमा समपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->