शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरानासँग लड्दा लड्दै घर भत्किएपछि…

कोरानासँग लड्दा लड्दै घर भत्किएपछि…

१४ दिन क्वारेन्टाई, ३९ दिनको आईसोलेसन बसाई पछि घर फर्केका हरि प्रसाद ।


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७७, बुधबार

बागलुङ, २८ साउन– घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरि प्रसाद घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नईमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएका उनलाई लागेको थिएन् आँफै बिरामी परेर झण्डै डेढ महिना अस्पतालको बसाई हुन्छ ।
चेन्नईबाट बसमा नेपाल–भारत सिमानामा आएका बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका हरि प्रसाद उपाध्याय सिमादेखि स्कार्फियो रिजर्व गरेर बागलुङ आए । रामरेखा आधारभूत क्वारेन्टाईनमा १४ दिन बितेपछि थाहा भयो उनमा कोरोना संक्रमण भएको रहेछ ।
श्रीमती बिरामी भएको खबरले हतारिँदै आएका हरि प्रसाद सरासर घर पुग्ने त अवस्था नै थिएन, क्वारेन्टाईनको बसाई आईसोलेसनमा स¥यो । जेठको ३१ गते बागलुङ आएका उनलाई कोरोना पोजेटिभ देखिएपछि असार १३ गते रामरेखा क्वारेन्टाईनबाट धौलागिरी बहिरा आवासिय माविको आईसोलेसन सारियो । स्वाव संकलन भएर रिपोर्ट आउन समय लागेकाले क्वारेन्टाईन बसाई लामो भएपनि छोटो हुनेमा उनी विश्वस्त थिए ।
समाचारमा पनि एक महिना लामो कसैलाई आईसोलेसन बस्न नपरेको सुनेकै थिए । तर उनको आईसोलेसन बसाई ३९ दिनको भयो । पाँचौ पटकको जाँचमा पोजेटिभ र छैटौं जाँच गर्दा फल्स रिपोर्ट आएपछि उनको सातौं पटक जाँच भयो । नेगेटिभ रिपोर्ट आएपछि घर फर्केका उनी आईसोलेसनमा रहेर धेरै पटक जाँच गराउने हालसम्मको पहिलो बिरामी पनि हुन् ।
‘२८ औं दिन राती एक पटक ज्वारो आयो, सिस्टरले दिएको एउटा सिटामोलले निको भयो’ उपाध्यायले भने ‘नत कुनै संकेत न अरु बिमार, रिपोर्टकै आधारमा लामो समय बसियो ।’ बागलुङमै पहिलो पटक कोरोना पुष्टि भएकी १९ वर्षिया युवती २७ दिन आईसोलेसन बसेको तथ्यांक छ । ‘यहाँका के आईसोलेसन भन्ने र खै, तैपनि स्वास्थ्यकर्मीको व्यवहार र व्यवस्थापनले ढुक्क बनाउँछ’ उनी भन्छन् ‘टिमुर, खाना र पानीले नै लामो समय लगाएर कोरोना जितेँ ।’
कोरोना निको भएर घर फर्केका उपाध्यायमाथि अर्को बज्र परेको छ । उनी आईसोलेसनमै रहेका बेला साउन ७ गते परेको अविरल वर्षाले चार वर्षअघि बनाएको घर भत्किएको छ । १४ लाख रुपैयाँ खर्चेर उनले त्यो घर बनाएका थिए । त्यहिँ घर बनाउँदा लागेको ऋण तिर्न उनी चेन्याई पुगेका थिए ।
‘श्रीमती बिरामी, घर भत्केको छ, कोरोना जितेर घर आउँदा पनि बस्ने ठाउँ नभएर कान्छा बाको गोठ मागेर बसेँ’ उनले भने ‘सात दिन गोठमा बसेर हिजो बाहिर निस्केँ, अब बल्ल उपचारको कुरा गर्नुपर्ला ।’ स्वास्थ्य मापदण्डअनुसार ७ दिनको होम आईसोलेसन पुरा गरेर सामाजिक जिवनमा आएका उनले बिपत्तिसँग कोही पनि आत्तिन नहुने बताउँछन् । ‘के सोचेर हिँडेको थिएँ के भयो’ उनले भने ‘मलाई त कोरोना सरुवा हो जस्तो पनि लाग्दैन, होईन भने म कसैसँग सम्पर्कमा नआउँदै कसरी लाग्यो ?’ आँफुसँगै एउटै स्र्कापियोमा आएका चार जनाको रिपोर्ट नेगेटिभ आउँदा आफ्नो पोजेटिभ आएको उनले बताए ।
हरि प्रसादको भत्केको घरले गिज्याईरहेको छ । स–साना दुई छोराछोरी र बुढाबुढी काकाको घरमा आश्रय लिएर बसेका छन् । ‘समयले पनि हामीलाई मात्रै थिच्यो, कयौं ठाउँमा उपचार गराउँदा उनको टाउको दुख्ने विमार पत्ता लाग्दैन, यता लाखौं खर्चेको घर भत्किएको छ’ उनले भने । घरबास नै गुमाउँदासमेत कसैले चासो नदिएको उनको गुनासो छ । जिल्ला विपत् व्यवस्थापन समितिले उनको घरलाई ६ हजार रुपैयाँ दिएको छ । रेडक्रसको ५ हजार, सिवाइसीको ५ हजार र मालिका समाजको २५ हजार राहत पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->