सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठेखोलाको अभियान : हाम्रा चुल्हा सबैका लागि खुल्ला

काठेखोलाको अभियान : हाम्रा चुल्हा सबैका लागि खुल्ला


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७७, बुधबार

बागलुङ, २८ साउन– जागिरे जीवन । स्वास्थ्यकर्मी भएकाले सबैको घर पुग्नुपर्ने । गाउँको स्वास्थ्य चौकी प्रमुख भएपछि सबै समस्या हेर्नुपर्ने, ज्वरो जाँच्नेदेखि सुत्केरी गराउनेसम्म । टाढाको बाटो, भनेको जस्तो समय नहुने । कहिले काम सकेर चियाको चुस्कीले मात्रै मुख बिटाउँदै फर्किनु पर्दथ्यो त कहिले पेट भर्नका लागि काममा पुगेकै ठाउँमा खानु पर्ने । त्यहिं पेटका लागि दिएको खादा कहिलेकाहीँ मन दुख्ने व्यवहारको सामना गर्नुपथ्र्याे ।
झण्डै १२ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरेर प्रशासनिक क्षेत्रमा प्रवेश गरेका जिल्लाको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माको दैनिकी केही वर्ष पहिलेसम्म यस्तै थियो । दलित समुदायका उनी लामो समय स्वास्थ्य क्षेत्रमा काम गरे । शिक्षाको पहुँच कम भएको ठाउँ, स्वास्थ्य चौकीमा काम गर्दा एक पटक प्रसुती व्यथाले च्यापेकी गैरदलित महिलाको उपचारमा जानु पर्यो ।
‘ठाउँ त नभनौ भोगाईको कुरा गर्छु’ खिमबहादुर विगत सम्झदै भन्छन्– ‘घरभित्र पसेर सुत्केरी गराएँ, खाना बाहिर ल्याईदिनुभो ।’ स्वास्थ्यकर्मी भएकाले उनलाई सम्मान त निकै गरे तर सुत्केरी गराउनका लागि भित्र पस्न दिनेहरुले भित्रै बसेर खाना दिएनन् । झण्डै दश वर्षअघि उनले भोगेको यो व्यवहार अहिले दलित समुदायमा कम त हुँदै गएको छ तर विभेद मुक्त भने हुन सकेको छैन । अहिले पनि कयौं ठाउँमा जातिय विभेदकै कारण सामाजिक द्वन्द, छिमेकीको मिलेमतो टुटेका घटना सार्वजनिक भैरहेका छन् । जातिय विभेदकै कारण कयौंले ज्यान गुमाएका घटनाहरु पनि छन् ।
खिम बहादुरले स्वास्थ्य क्षेत्रमा भोगेको भोगाईलाई कानुनले निषेध गरेको छ । कानुनी व्यवस्था भएपनि सामाजिक परिवर्तनको लागि भने अभियान र सचेतना चाहिन्छ भन्नेमा उनको धारणा छ । स्वास्थ्य क्षेत्र छोडेर प्रशासनिक क्षेत्रमा लागेका बिक काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आँफैले काम गर्ने गाउँपालिकाले सामाजिक विभेद तथा भेदभावविरुद्ध शुन्य सहनशिलताको नीति लिएको छ । गाउँपालिकाले छुवाछुत तथा भेदभावलगायतका सबै प्रकारका सामाजिक कुरीति र कुसंस्कारको अन्त्य गर्न ‘हाम्रा चुला सबैका लागि खुल्ला’ भन्ने नीति लिएपछि बिक औधी खुसी छन् ।


‘विभेदरहित समाजको कल्पना गरेर हामीले अभियान थालेका हौं’ गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले भने ‘नारा लगाउँदैमा हुने कुरा होईन, व्यवहारमा परिवर्तन चाहन्छौं ।’ गाउँपालिकामा सामाजिक बहिस्करण त छैन् तर समुदायमा सचेतना भने आवश्यक रहेको थापा बताउँछन् ।
‘अर्काको घरभित्र जान देउ भनेर गएको त छैन तर सामाजिक रुपमा त्यस्तो व्यवहार व्यहोरेकी छैन’ काठेखोला–४ तंग्रामकी विष्णु दमाईले भनिन् ‘कसैले होँचो बनाएर भनेको सुन्न नपरे हुन्थ्यो भन्ने लाग्छ ।’
‘जातको आधारमा विभेद गर्नु अमानवीय कार्य हो’ अध्यक्ष थापा भन्छन्– ‘सबैको साथ र सहयोगले मात्र गाउँपालिकाको नीति कार्यान्वयनमा सजिलो हुनेछ ।’ उनले सबै घरको चुल्होमा सबैको पहुँच पुग्नका लागि शिक्षित वर्गको सहयोग महत्वपूर्ण हुने बताए ।
काठेखोला गाउँपालिकाभित्र निजी स्थानबाहेक दुग्ध सहकारी, मठमन्दिर, सार्वजनिक भोजभतेर, विवाह, व्रतबन्ध, पूजाकार्यजस्ता सामाजिक गतिविधिमा समेत दलित समुदायलाई सहज पहुँच छैन । सार्वजनिक स्थानमा निषेध हुने दलित समुदायको लागि चुल्होमा पहुँच तत्कालिन रुपमा चुनौतीपूर्ण भएपनि दीर्घकालिन महत्वको नीति भएको प्रमुख प्रशासकीय अधिकृत बिक बताउँछन् । ‘अहिले पनि दलित समुदाय बाहिरको समुदायमा कम्तिमा पानी चल्ने जात भन्ने मानसिकता छ’ बिक भन्छन् ‘विवाह, सार्वजनिक कार्यक्रम, मठमन्दिर र पुजाआजाजस्ता काममा अलग्गै भान्छाको परिपाटी अन्त्य हुँदा मात्रै धेरै सुधार हुन्थ्यो ।’
जातिय छुवाछुत मात्र होइन गाउँपालिकाले बालविवाह मुक्त तथा बालमैत्री स्थानीय तह बनाउन सबै सरोकारवाला निकायसंग समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने विकको भनाई छ । गाउँपालिकाले लक्षित वर्गअन्तर्गतका कार्यक्रम संचालन गर्न करिब १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले समाजमा रहेका कुरुती, कुप्रथा, लैंगिक हिंसा, मानव बेचविखन तथा ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम, हिंसा पीडित तथा अन्तरजातिय विवाहको कारण घर छोड्न बाध्य व्यक्तिको उद्धार, संरक्षण, पारिवारिक पुर्नएकीकरण र पुर्नस्थपना गर्न सामाजिक संजाल र गैरसरकारी संस्थाहरुसंग समन्वय गरी कार्यक्रम संचालनका लागि उत्प्रेरित गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->