बागलुङ, ३० साउन– चार महिना लामो बन्दाबन्दीका कारण ठप्प थिए बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु । बन्दाबन्दी खुलेसंगै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खुकुलो भएसँगै चहलपहल हुनैलाग्दा बढेको कोरोना संक्रमणको ग्राफले पुनःप्रभावित भएका छन् ।
जिल्लामै कोरोनाका बिरामीको तथ्यांक पहिलेको तुलनामा लकडाउन खुकुलो भएपछि कम छ तर देशभरको तथ्यांकले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा प्रभाव पारेको छ । ‘हामी दैनिक प्रवचनमा सहभागी हुन्थ्यौं, अहिले त भित्र हुनेहरु मात्रै प्रवचनमा सहभागि हुनुहुन्छ हामी जाँदैनौं’ १५ वर्षअघिदेखि ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र बागलुङको प्रवचनमा सहभागि हुँदै आएकी गंगा कुमारी खड्काले भनिन् ‘पहिला त रोगबाट बच्नुपर्यो भनेर जान छोडियो ।’
दैनिक हजारौंको भीड लाग्ने बागलुङ कालिका मन्दिर, आन्तरिक पर्यटकको केन्द्र पञ्चकोटमा पनि पर्यटक छैनन् । औपचारिक रोक नलगाईएको भएपनि यहाँका कतिपय धार्मिक पर्यटकीय क्षेत्रमा भीड लाग्ने काम स्वस्फुर्त रुपममै कम भएको छ ।
सामाजिक काम, धार्मिक कार्यक्रमहरुमा सचेतना देखापरेको भएपनि बागलुङमा हुने राजनीतिक गतिविधिमा भने भीडभाड हुने गरेको छ । यहाँका राजनीतिक दल तथा तीनका भातृ संगठनहरुले गर्ने कार्यक्रममा भीडको प्रवाह नभएको पाईएको हो ।
नेपाल सरकारले स्वास्थ्य प्रोटोकल बनाएर २५ जनाभन्दा धेरै जम्मा हुन निषेध गरेको छ । तर जिल्ला सदरमुकामै सत्तासिन दल नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघले भीड जम्मा गरेर तीजको गीत गायो । जिल्लाका विभिन्न क्षेत्रबाट महिला संघका सदस्यहरु कार्यक्रममा सहभागि थिए । सरकारको प्रोटोकल अनुसार नत मास्कको प्रयोग भयो नत सामाजिक दुरी कायम नै । गत साता सदरमुकाममा भएको भीडको सिको जैमिनी नगरपालिकामा नेपाली कांग्रेसले ग¥यो ।
केही दिनअघि नेपाली कांग्रेस जैमिनीले वडा नं. ५ मा पुगेर अन्य दलका कार्यकर्तालाई रातारात आफ्नो पार्टिमा प्रवेश गरायो । जहाँ नगरप्रमुख इन्द्रराज पौडेलदेखि पार्टिका महासमिति सदस्यसम्मको उपस्थिती थियो । रातको समयमा धेरै मान्छे जम्मा भएर गरिएको कार्यक्रममा कुनैपनि स्वास्थ्य मापदण्ड नअपनाईएको स्थानीयले बताए ।

महिला संघ र नेपाली कांग्रेसले गरेका यि प्रतिनिधि घटना मात्रै हुन् । कोरोनाको महामारीले भयावह रुप लिईरहेका बेला जिल्लाका विभिन्न ठाउँमा हुने राजनीतिक क्रियाकलापमा अन्य सामाजिक कार्यमा भन्दा बढी भीडभाड हुने गरेको छ । जिल्लास्थित विपद् व्यवस्थान समितिले पटक पटक आग्रह गर्दै भीड नगर्न र मास्क लगाउन भनेको छ । ‘आम सर्वसाधारणमा संक्रमण हुन सक्छ तर नजाँची थाहा लाग्दैन्’ एक स्वास्थ्यकर्मी भन्छन् ‘यो बेला सबैले सचेतना अपनाईएन भने ठुलो दुर्घटनाको शिकार बन्नुपर्छ ।’ विशेषगरी राजनीति गर्ने र विधि बनाउनेहरुले नै विधि मिचेको पाईएको हो । मास्क, सेनिटाईजरको प्रयोग र सामाजिक दुरी कायम गर्ने जिषयमा समेत बेवास्ता हुने गरेको छ ।





