आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ठेकेदारको काममा म्याद थपियो, उपभोक्ताको काममा विभेद

ठेकेदारको काममा म्याद थपियो, उपभोक्ताको काममा विभेद

असार मसान्तमा नसकेपछि भदौसम्म कार्यादेश


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७७, शनिबार

बागलुङ, ३१ साउन– असार मसान्तमा सक्नुपर्ने काम नसकेकोले पञ्चकोटमा संसारकै अग्लो कलसको जग निर्माणको भुक्तानी रोकियो । बागलुङ नगरपालिकाले मूल्यांकन गरेर मसान्तमा भएको कामको मात्रै भुक्तानी दिएको वडा नं. ६ का अध्यक्ष खेमराज सापकोटालले बताउँछन् ।
सापकोटाले नगरप्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृत समेतलाई १० दिनको समय मागेर काम सक्ने प्रतिवद्धता जनाएका थए । तर असार मसान्तको दिन नभएको कामको भुक्तानी दिन नसकिने भन्दै ३५ लाख कटाएर मात्रै भुक्तानी दियो ।
एक करोड बजेटमध्ये ६५ प्रतिशत मात्रै सकिएको भन्दै ३५ लाख फ्रिज गराइएको थियो । ‘ढलानको काम अगाडि बढेकोले १० दिनमा काम सकिन्थ्यो, तर बजेट फिर्ता गराइयो’ सापकोटाले भने, ‘पर्यटन प्रवद्र्धनको काम थियो, त्यति बजेट खर्चन पाएको भए ठूलो उपलब्धी देखिन्थ्यो ।’ लकडाउनको कारण चैत, बैशाख र जेठमा काम गर्न नसकेकोले असार मसान्तमा काम सक्न मुस्किल भएको उनले बताए ।
१ करोड बजेटमा निर्माणाधिन भलायटाकुरा–काभ्रे सडक पनि असार मसान्तमा सकिएन । नगरपालिकाले भदौ मसान्तसम्म कार्यादेश दिएर काम गराएको छ । म्याद थपेर काम गर्दा पनि गुणस्तरको नभएको टिप्पणी भैरहेको छ । चार इन्चको ढलान हुनुपर्नेमा दुइ इन्च मात्रै भएको भन्दै चोकमा दिनदिनै स्थानीयले खोजी गरिरहेका छन् ।
‘ढलान र कालोपत्रे गर्ने कामलाई नगरपालिकाले कार्यादेश दिएको छ, केही दिनमा काम सकिन्छ’ वडा अध्यक्ष जीवन आचार्यले भने, ‘काम गर्दा गर्दै नभ्याइएकोले कार्यादेश लिएर काम गर्नुपरेको हो ।’ ठेकेदारले असार मसान्तमै चेक भुक्तानी लिएका छन्, काम भने अझै सकिएको छैन् । बजारभित्रका अन्य चोक सुधार र गल्ली ढलानको काम पनि गुणस्तर नभएको टिप्पणी भैरहेको छ ।
उपभोक्ता समितिमार्फत गरिएका कामको असार मसान्तमा जति काम भयो त्यति मात्रै भुक्तानी दिएको नगरपालिकाले ठेकेदारमार्फत गरेको काम भने कार्यादेशमार्फत म्याद थपेको हो । ठेकेदारले गरेको काममा जनताको लागत सहभागिता पनि हुँदैन । ‘ठेकेदारको काममा म्याद थपिने, उपभोक्ताको काममा केही दिनमा सक्छु भनेर पनि नपाइने विभेद भयो’ सापकोटाले भने, ‘हामीले पनि काम गरेरै भुक्तानी लिन्थ्यौं, काम गरेर देखाउथ्यौं ।’ पहुँचवालालाई मात्रै नगरपालिकाले कार्यादेश दिएको उनले टिप्पणी गरे ।
वडा नं. २ का अध्यक्ष जीवन आचार्यले केही समय विवादित भएर रोकिएको र अत्यावस्यक काम भएकोले कार्यादेशमार्फत म्याद थप गरिएको बताए ।
‘वडाभित्रै भएपनि हल्लनचोकको काम नगरपालिकाको हो, अरु काम प्रदेश सरकारको बजेट हो ।’ नगरप्रमुख जनकराज पौडेलले अत्यावस्यक काम भएकोले कार्यादेश दिएर सक्नेगरी काम भैरहेको बताए । अलपत्रै छाड्दा बजारबासीले दुःख पाउने उनले बताए ।
वडा नं. २ कै विरेन्द्र ऐश्वर्य पार्क निर्माणको काम पनि असार मसान्तमा सकिनु पर्नेमा साउन मसान्तमा पनि काम भैरहेको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माणाधिन छ । समीक्षालयचोकदेखि रुद्रेपिपलतर्फको सडकमा नाली निर्माणको काम पनि अझै निर्माणाधिन छ । निर्माणको काम भैरहेकोले जोखिमको यात्रा गर्नुपर्ने बाध्यता छ । हिलाम्मे सडक छ । नाली पनि कतै ठूलो, कतै सानो बनाइएको छ । ती काम भने ठेकेदारमार्फत गरिएकोले सजिलै म्याद थपिएका छन् । सरकारका तीनवटै तहमा ठेकेदारको काममा म्याद थप्ने, उपभोक्ताको काममा भुक्तानी दिन पनि आनाकानी गर्ने काम भैरहेको हो ।
‘काम किन ढिला भयो, गरेपनि गुणस्तरमा ध्यान दिएजस्तो लागेको छैन’ स्थानीय उपभोक्ता अर्जुन चोखालले भने, ‘ठेकेदारले गरेको काम ढिला भएपनि म्याद थपेर भुक्तानी दिन मिल्ने रहेछ ।’
इन्जिनियर मनोज शर्माले कोरोना कहरका कारण ढिला भएकोले म्याद थपेर काम लगाइएको बताए । सडक विभागले गरेको कामबाट पनि नगरभित्रको दैनिक आउजाउ रोकिएको छ । सडक अभावमा प्रमुख जिल्ला अधिकारीले दैनिक कार्यालय आउजाउ गर्न पनि घुमाउरो बाटो हिड्न बाध्य छन् ।
गत वर्षकै बजेटमा चोक सुधार, ढल निकास लगायतको काम गर्ने भनेपनि नगरपालिकाले काममा ढिलाइ गरेको हो । पुरानो जिविस तथा माइक्रो काउन्टर सम्मको सडक चौडा बनाउने काम अझै नसकिएको हो । वडा अध्यक्ष आचार्यले सडक चौडाको काम भने चालु वर्षको बजेटबाट भैरहेको दावी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->