बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा सडक दुर्घटनाले बर्ष दिनमा ४४ जनाको मृत्यु

तनहुँमा सडक दुर्घटनाले बर्ष दिनमा ४४ जनाको मृत्यु

ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार वर्षदिनमा जिल्लाका ६४ स्थानमा भएका सडक दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् ।


  • बिनोद ढुंगाना
  • साउन ३१ २०७७, शनिबार

तनहुँ, ३१ साउन– चैतको दोस्रो सातादेखि साउन पहिलो सातासम्म झण्डै चार महिना सडकमा सवारीसाधनको चाप भएन । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाले सवारी चलेनन् । चैतदेखि असार सम्म भएका दुर्घटनामा ९ जनाले ज्यान गुमाए । त्यो अवधिमा पनि १० स्थानमा दुर्घटना भएका थिए ।
ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार वर्षदिनमा जिल्लाका ६४ स्थानमा भएका सडक दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्क गत आर्थिक वर्ष २०७६÷०७७ को हो । सडक दुर्घटनामा ३० जना पुरुष, ११ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परेर ६७ जना गम्भिर र ८९ जना सामान्य घाइते भए ।
दुर्घटनामा पर्ने सवारीमा मोटरसाइकल अग्रस्थानमा छ । ३१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । १६ बस, १५ जीप तथा कार, ट्रक तथा टिप्पर १४ र ट्याक्टर १० वटा दुर्घटनामा परेका कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष २०७५÷०७६ मा ६१ जनाले ज्यान गुमाएका थिए । २०७४÷०७५ मा ६५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यसरी ३ वर्षको तथ्याङ्कलाई हेर्दा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या घट्दो देखिन्छ ।
२०७६÷७७ मा दुर्घटनामा कमी आउनुको मुख्य कारण ४ महिनासम्म गरिएको लकडाउन हो । तनहुँका ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक रेशम रानाभाट भन्छन्, ‘लकडाउन भएको कारण पनि दुर्घटनामा केही कमी आयो । अरु बेलाको तुलनामा सडकमा कम सवारी चले । अर्कोतर्फ कोरोनाको संक्रमणबाट आम नागरिकलाई कसरी सुरक्षित गराउन सकिन्छ भनेर सबै प्रहरी सडकमा उत्रिएर सडकमा गुडेका सवारी साधनलाई चेकजाँच, परामर्श दिएर सजग र सतर्क बनाएका थियाँै ।’
पृथ्वीराजमार्गमा धेरै दुर्घटना हुन्छ । वर्षौ पुरानो साँघुरो सडकमा धेरै सवारी गुड्ने र जथाभावी ओभरट्याक गरेर हुइँक्याउँदा दुर्घटना हुने उनको भनाई छ । मानसिक तनाव लिएर र हतारमा यात्रा गर्दा दुर्घटनाको जोखिम हुने ट्राफिक प्रमुख रानाभाटको बताउँछन् ।
कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाल, विमलनगर, पावरहाउस पृथ्वीराजमार्गमा बढी दुर्घटना हुने स्थान हुन् । बढी दुर्घटना हुने स्थानहरुमा सचेतना बोर्ड, कनभेक्स मिरर राखिएको छ भने राडर गनमार्फत सवारीको गति मापन समेत गर्ने गरिन्छ ।
गण्डकी प्रदेशमा धेरै सडक दुर्घटना हुने जिल्लामा तनहुँ पर्दछ । दुर्घटना घटाउन सरोकारवाला निकाय र यातायात व्यवसायीसँग समन्वय गर्दै आईरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले बताए । मदिराजन्य पदार्थ सेवन गर्नेलाई रोक्ने र कारवाही गर्ने गरिएको उनले उल्लेख गरे । धेरै जसो दुर्घटना सवारी चालकले मदिरा सेवन गरेर चलाउँदा हुने गरेको छ । ‘सडकमा दुर्घटना हुन नदिनलाई हामी सजग छौ । सर्वसाधारणलाई पनि सचेत गराईरहेका छौँ’, पौडेलले भने ।
जिल्लामा सडक दुर्घटनामा मात्रै होइन, सवारी कारवाहीबाट उठ्ने राजश्व पनि घट्दै छ वर्षेनी । २०७५/०७६ मा एक करोड ६६ लाख ९४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएकोमा ०७६/०७७ मा त्यो भन्दा ३२ लाख २४ हजार पाँच सय रुपैयाँ कम एक करोड ३४ लाख ५१ हजार रुपैयाँ संकलन भएको ट्राफिक प्रमुख रानाभाटले जानकारी दिए । उनका अनुसार ट्राफिक नियम विपरित चलाउने सवारी साधन तथा मालवाहक ढुवानीका साधनका चालक कारवाहीमा पर्ने गरेका छन् ।
नियम विपरित चलाइएका २१ हजार १ सय ५० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको तथ्याङ्क छ । कारवाहीमा पर्ने सवारीमा दुईपांग्रे मोटरसाइकल तथा स्कुटर नै धेरै छन् । छ हजार तीन सय ५२ मोटरसाइकल स्कुटरलाई कारबाही गर्दा ४६ लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७४÷७५ मा सवारी साधनलाई कारवाही गर्दा रु एक करोड ६९ लाख २६ हजार ५ सय सङ्कलन भएको थियो । राजमार्गमा ओभरटेक गर्ने, लेन मिचेर चलाउने, जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने, ओभरलोड, तीव्र गति, मापदण्ड विपरीत कार्य गरेका सवारी र चालकलाई कारबाही स्वरुप सचेतना कक्षा र दण्ड जरिवाना गर्ने ट्राफिक प्रमुख रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->