शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडिगाड गाउँपालिका सिल, जिल्लाभर कडाई

वडिगाड गाउँपालिका सिल, जिल्लाभर कडाई

जोरबिजोर प्रणाली लागू


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७७, शनिबार

बागलुङ, ३१ साउन– बडिगाड गाउँपालिकाले शनिवार रातीदेखि लागू हुने गरी गाउँपालिका सिल गरेको छ । पालिकाको सिमाना भित्र कोहीपनि आउजाउ गर्न नपाउने गरी सिल गरिएको अध्यक्ष मेहरसिंह पाइजाले बताए ।
वडा अध्यक्षमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी गर्न सजिलो हुने भन्दै पालिका सिल गरिएको हो । पालिका भित्र एम्बुलेन्स र अत्यावस्यक सेवाका सवारी बाहेक अन्य रोक लगाउने निर्णय भएको हो । सबैलाई घरमै बस्न पनि आग्रह गरिएको छ ।
बागलुङ बजारमा होटल व्यवसाय गर्दै आएकी एक महिलामा पनि संक्रमण देखिएपछि प्रशासनले सदरमुकाममा कडाडी गरेको छ । समुदायमा संक्रमण फैलन सक्ने भन्दै बजारमा नडुल्न, आवस्यक परेर निस्कनुपर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । मास्क नलगाइ हिड्नेलाई कारवाही समेत थालेको छ ।
जोरबिजोर प्रणाली लागू
जिल्ला बिपत व्यवस्थापन समिति बागलुङको शनिवार बसेको बैठकले कोरोना संक्रमण बिरुद्ध कडाइ गर्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार कडाइ गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शनिवार रातीदेखी लागू हुनेगरी एम्बुलेन्स, तरकारी, दाना, दूध र खाद्यान्न ढुवानी बाहेक अन्य निजी सवारी साधन जोर गतेको दिन जोर र बिजोर गतेको दिन बिजोर गाडि मात्रै चल्न दिने निर्णय भएको छ ।
त्यस्तै खुला स्थानमा भेला हुने, भीड गर्ने र मठमन्दिरमा पूजा गर्ने निहुँमा भेला हुने काम रोक्ने निर्णय गरेको छ । त्यस्तै भीड हुने जात्रा, मेला र महोत्सव रोक्न पनि आग्रह गरेको छ । तालिम, गोष्ठी, सेमिनार, स्विमीङपुल, होटल र रेष्टुरेन्ट कवर्डहल लगायतको सेवा र पुस्तकालय, संग्राहलय लगायतका सेवा पनि तत्काल रोक्न निर्देशन दिएको छ । फुटपाथ र कवाडी संकलनको काम पनि रोकिएको बताइएको हो ।
बैठकले जिल्लाभरको कोरोना संक्रमणको अबस्था, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन बारे समीक्षा पनि गरेको छ । हाल सम्म जिल्लामा २ हजार १ सय ८६ जना मानिस राख्न सक्ने क्वारेन्टाइन बनेको, १२ महिला र १ सय ४१ पुरुष सहित १ सय ५३ जना मानिस क्वारेन्टाइनमा रहेको, हाल सम्म जिल्लामा ५ हजार ७ जनाको स्वाब संकलन भएको, ४ हजार ६ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको र ३ सय ४६ जनाको प्राप्त हुन बाँकी रहेको बताइएको छ । ती मध्ये २ सय ६७ जनाको पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->