बागलुङ, ३२ साउन– नजिकैको मावली सानै उमेरको भएपनि एक्लै आउन जान समस्या थिएन । भौगोलिक हिसाबले वारिपारी रहेको मावली र घर सधैंजसो आउनेजाने गर्थे प्रवेश ! तीन दिनअघि वर्षा रोकिएर घाम लागेको थियो । दिन त ढल्दै थियो तर मौसम सफा रहेकाले उनले आमासँग सल्लाह गर्दै भनेका थिए– ‘मावली जान्छु’ । आमाको अनुमतिपछि मावली गाउँ पुगेका प्रवेश अब भने घर फर्किने छैनन् ।
निसीखोला गाउँपालिका वडा नं. ५ मा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६ वर्षका प्रवेश विक र उनका मामा १४ वर्षिय विरेन्द्र विकसँगै अस्ताए । निकै मिल्ने मामा–भन्जा एकै ठाउँमा सुतेको अवस्थामा पहिरोले पुरिएको स्थानीयले बताए । शुक्रबार राती २ बजे घर माथिको जमिनले गाह्रो भत्काउँदा अँठिएका मामा–भान्जा घरको भूँइतलामै अस्ताए । सँगै सुतेकी ५३ वर्षिया आमा घाईते भएकी छन् । ‘न जमिन अगतिलो हो, न कुनै पहिरो आउनेजस्तो ठाउँ नै छ, थोरै भत्केको जमिनले गाह्रो ढलाएको छ’ वडा अध्यक्ष हर्कमान घर्तिले भने ‘आमा चाहिँलाई घरकै मदुस र भ¥याङले जोगाएछ ।’
गाह्रोले हात अँठिएकी ५३ वर्षिया दिलसरालाई गाउँले आएर उद्वार गरे । उनको हातमा सामान्य चोट लागेको छ । घरको भूईंतलामा नाती, छोरा र दिलसारा मात्रै सुतेका थिए । घरको माथिल्लो तल्लामा सुतेका चार छोराछोरी भने सकुशल छन् । ‘कच्चि घर खरको छाना भएकाले अँठ्याउँदा पनि केही असर परेन छ’ घर्तिले भने ‘घर भाँसिएको छ ।’
घरमुली हिरा बहादुर बिक भने डेढ घण्टाको पैदलयात्रामा पुगिने गोठमा गएका थिए । स्थानीयका अनुसार, समयमै उद्धार भएको भए उनीहरुको मृत्युलाई समेत रोक्न सकिने अवस्था थियो । दुई नाबालक गुमाएपछि बिक परिवार भावविव्हल भएको छ । उनीहरुलाई गाउँपालिकाले तत्काल खाद्यान्न तथा लत्ताकपडाको व्यवस्थापन गरेको छ । व्यवस्थित बसोबासका लागि नजिकै खाली रहेको घरमा सार्ने प्रबन्ध मिलाईएको वडाध्यक्ष घर्तिले बताए ।
यस्तै, निसीखोला गाउँपालिका वडा नं. ३ मा शनिबार बिहानै गएको पहिरोले अर्को खुसी लुटेको छ । धरखर्कमा एकै ठाउँमा बसेका ८४ वर्षिय जुठे कामीकी श्रीमती ७९ वर्षकी वली कामीलाई पहिरोले च्याप्यो । पहिरो आउँदै गरेको थाहा पाएका वृद्ध भागेर ज्यान बचाए भने श्रीमतीको ज्यान बचाउन सकेनन् । घरमाथिबाट आएको पहिरोले पुरिँदा वलीको मृत्यु भएको छ । घर क्षतविक्षत भएको छ ।
बुढ्यौलीको सहारा श्रीमतीलाई पहिरोले पुरेपछि जुठे कामी भावविह्वल भएका छन् । छोराबुहारी बाहिर रहेकाले उनीहरु दुईजना मात्रै घरमा थिए । अहिले वृद्ध बिकलाई गाउँकार्यपालिका सदस्यसमेत रहेका भाईका छोरा कोक बहादुर कामीले आफ्नो घरमा राखेका छन् । अपत्यारिलो ठाउँबाट आएको पहिरोकै कारण घर पुरिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
निसीखोलामा शुक्रबार साँझदेखि शनिबार बिहानसम्म निरन्तर परेको वर्षाले कयौं ठाउँमा पहिरो खसेको थियो । दुवै पहिरोका घटनामा मृत्यु भएका तीन जनाको शव झिँवाखोला स्वास्थ्यचौकीमा पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पुगेको चिकित्सकहरुको टोलीले उनीहरुको पोष्टमार्टम गरेको थियो ।
वर्षाले भासियो मध्यपहाडी लोकमार्ग
बागलुङ, ३१ साउन– निरन्तको वर्षा र पहिरोका कारण मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्डअन्र्तगत काठेखोला गाउँपालिकाको बिहुँमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बुर्तिबाङ निसीखोला खण्डमा पनि ठाउँ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छभने केही ठाउँमा सडक भाँसिएको छ । जिल्लाको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने एकमात्र सडक भाँसिने र पहिरोले सवारी सञ्चालमा समस्या भएको प्रहरीले जनाएको छ ।
उता, निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा निर्माणाधिन सडक भाँसिएको छ । लोकमार्गको पोखरा–बागलुङ सडकखण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका–७ खरेहास्थित फलामखानी नजिकैको सडक भाँसिएको हो ।
स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको यो सडक भाँसिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ । भाँसिएको ठाउँको बाटोहुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि सवारीहरु चल्ने गरेका छन् ।
कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भाँसिएको हो । तत्कालका लागि भाँसिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए ।





