सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढी पहिरो पीडितका घर बनाउने विकल्प खोज्दै बरेङ

बाढी पहिरो पीडितका घर बनाउने विकल्प खोज्दै बरेङ


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७७, आइतबार

बागलुङ, ३२ साउन– बाढी र पहिरोका कारण विस्थापित भएका परिवारको व्यवस्थापनका लागि जिल्लाको बरेङ गाउँपालिकाले विकल्पहरुको खोजी गर्न थालेको छ । तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलव्ध गराएको गाउँपालिकाले दिर्घकालिन बसोबासका लागि विकल्पको खोजी गर्न थालेको हो ।
गाउँपालिकाले बाढी तथा पहिरो प्रभावितका लागि चालु आर्थिक वर्षको कार्यक्रममा कुनैपनि स्रोत नभएकाले विकल्पहरुको खोजी गर्नुपरेको हो । ‘वर्षाले निम्त्याएको विपत्तिसँग जुध्नका लागि कुनै योजना बनाईएन’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा भन्छन् ‘अब स्रोतहरुको पहिचान गरेर विस्थापितको व्यवस्थापन गर्छौं ।’
विपद व्यवस्थापन कोषबाट खाद्यान्न उपलव्ध गराएको गाउँपालिकाले खर्च नभएर रकमान्तर गर्न सकिने शिर्षकका बजेटहरु खोज्न थालेको छ । खरका छाना विस्थापन गर्ने कार्यक्रमबाट जस्तापाता उपलव्ध गराउने, सामुदायीक वनको सहयोगमा काठ र स्थानीय क्लव तथा आमा समुहको सहकार्यमा श्रमदान जुटाएर सामान्य घर निर्माणको विकल्प दिईने शर्मा बताउँछन् ।
‘विस्थापित भएका केही आँफै पनि घर बनाउन सक्ने अवस्थामा हुनुहुन्छ, कमजोर आर्थिक अवस्था भएका र आँफै घर बनाउन नसक्नेको लागि गाउँपालिकाले बासको व्यवस्था गर्नैपर्छ’ शर्मा भन्छन् ‘साझेदारीमा प्रदेश र संघ सरकारसँग पनि सहयोगको अपेक्षा गरेका छौं ।’
बरेङमा बाढी पहिरोका कारण १९ परिवार विस्थापित भएका छन् । सबैभन्दा धेरै वडा नं. १ मा ११ परिवार, वडा नं. २ मा ४ परिवार, ३ मा ३ परिवार र ५ मा १ परिवार विस्थापित भएका छन् । ‘तत्कालका लागि खाने व्यवस्था र भत्किएको ठाउँ बढी भत्किन नदिन त्रिपाल दिएका छौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने ‘पालिकाले गरेको नीतिगत व्यवस्था अनुसारको सबै सुविधा उपलव्ध गरायौं तर त्यतिले मात्रै पुग्ने अवस्था छैन् ।’
स्रोतको खोजीमा रहेको गाउँपालिकाले हिउँदे अधिवेशनमा एजेण्डा बनाएर कार्यक्रम ल्याउने जनाएको छ । विस्थापितमध्ये २ जना एकल महिला हुन । उनीहरुको आर्थिक अवस्था कमजोर रहेको र सहयोग गर्ने अन्य कोही नभएकाले तत्कालै व्यवस्थापन गनुपर्ने अवस्था रहेको अध्यक्ष शर्मा बताउँछन् । गाउँपालिकाले बाढी र पहिरो प्रभावित सबै वडाहरुमा पुगेर घरबास तथा खेतीयोग्य जमिनको निरीक्षण, अनुगमन गरेको छ । सबै वस्तुस्थितीका आधारमा निर्णय गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->