बागलुङ, २ भदौ– बागलुङमा कोरोनाको महामारी फैलिएपछि बागलुङ नगरपालिका मंगलबार रातिदेखि निषेधाज्ञा लागु गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति बागलुङको मंगलवार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो । यस अघि मंगलवार बिहान बागलुङ नगरपालिकाले लकडाउनका लागि सिफारीस गरेको थियो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार आज राति १२ बजेदेखि भदौ ८ गते राति १२ बजेसम्म बागलुङ नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो । यो अवधिमा एम्बुलेन्स, दुध, कृषिउपज ढुवानी, खाद्यान्न, दाना, औषधि, मल बिउ ढुवानी बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाईएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी भएको समितिले जनाएको छ । बागलुङ नगरलाई छोएर जाने मध्यपहाडि लोक मार्ग र कालिगण्डकी कर्रीडोरमा बिचमा चड्न र झर्न नपाउने गरी सार्वजनिक यातायात पूर्ण बन्द गर्ने, बजार क्षेत्र बन्द गर्ने निर्णय समितिले गरेको छ । बैंक तथा बित्तिय संस्था बन्द गर्ने, नगरका सबै वडा कार्यालयको सेवा हालका लागि बन्द गर्ने निर्णय भएको छ ।
अत्यावश्यक बाहेक कोहि पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, अत्यावश्क खाद्य बस्तुको खरिद बिक्रिका लागि बिहान ७ बजे देखि ९ बजे सम्म र साँझ ४ बजे देखि ६ बजे सम्म मात्रै पसल खोल्न दिइने छ । अनुमति प्राप्त सवारी साधन बाहेकका निजी सवारी समेत सञ्चालनमा पूर्ण रोक लगाईएको छ । दुध, खाद्यान्न, सरक्षा, सञ्चार, फोहोरमैला, बिद्युत भन्सार, खोपानी क्वारेन्टाइन व्यवस्थापन बाहेकका कार्यालय समेत बन्द गर्ने र पायक पर्ने कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन समितिले आग्रह गरेको छ । निषेधाज्ञाको बहानामा कालोबजारी नगर्नर निषेधाज्ञा अवज्ञा गरे कानुन बमोजिम कारवाही गर्ने निर्णय समितिले गरेको छ । बागलुङ नगरपालिकाका १४ वडाका सबै नाकामा कडाई गरिने भएको छ । प्रबेश गर्ने र बाहिरीने सबैलाई कडाई गर्ने निर्णय समितिले गरेको छ । बागलुङमा अहिले सक्रिय संक्रमितको संख्या २४ जना मात्रै छ । संक्रमित कम भएपनि समुदायमा संक्रमण देखिएकाले कडाई गरीएको हो ।





