सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फोहोर व्यवस्थापनको सम्झौता तोडियो

फोहोर व्यवस्थापनको सम्झौता तोडियो


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७७, बुधबार

बागलुङ, ३ भदौ– बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको सहकारीसँगको सम्झौता तोडेर बागलुङ नगरपालिका आँफैले फोहोर व्यवस्थापनको काम गर्ने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थासँगको सम्झौता तोडेको हो ।
सम्झौता अनुसारको काम नगरेको भन्दै नगर कार्यपालिकाको साउन ३२ गतेको बैठकले सहकारीसँगको सम्झौता तोड्ने निर्णय गरेको थियो । फोहोर समयमा नउठाएको, जिम्मेवारी नलिएको, पर्व र महामारीको समयमा समेत फोहोर नउठाउने गरेको, प्राङ्गारिक मल बनाउने सम्झौता भएपनि मल बनाउनका लागि कुनै सक्रियता नदेखाएकाले सहकारीसँगको सम्झौता तोडिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
बागलुङ नगरपालिकाका दुई सवारी साधन र ६ जना कर्मचारी तथा सहकारीको स्रोतबाट समेत सवारी र कर्मचारी परिचालन गरेर सहकारीले फोहोरको व्यवस्थापन गर्दै आएको थियो । ‘अब फोहोर व्यवस्थापनको काम नगरपालिका आँफैले गर्छ’ पौडेलले भने ‘साझेदारीमा भैरहेको कामले नगरबासी सन्तुष्ट भएनन् ।’
यता, सहकारीले भने आगामी असार मसान्तसम्म सम्झौताको समयावधी रहेको भन्दै अहिले नै सम्झौता तोड्न नमिल्ने बताएको छ । ‘हामीले पछिल्लो छ महिना यता गरेको काम हेर्नुस्, विश्वास लाग्दैन भने वडा अध्यक्षहरुलाई सोध्नुस्’ सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले भने ‘नगरपालिकाले आफ्नै कर्मचारी परिचालन गरेर अफ्ठेरो पार्ने र काम नगरेको भनेर आरोप लगायो ।’
सहकारीले पहिलो वर्ष निशुल्क फोहोर संकलन गरेर प्रक्रियागत रुपमै जिम्मेवारी लिएको जनाएको छ । २०७२ साल फागुन १२ गते सहकारी र नगरपालिकाबीच फोहोर व्यवस्थापन सम्बन्धि सम्झौता भएको थियो । नगरपालिकाका कर्मचारी र सवारी प्रयोग गरेको सहकारीले फोहोर व्यवस्थापनबापतको शुल्क भने आँफैले उठाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->